पहिलो पाइला नेपाल बुटवल शाखाद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग

by समतल अनलाइन
74Shares

बुटवल । सामाजिक सेवामार्फत विभिन्न मानवीय कार्य गर्दै आएको सामाजिक सहयोगार्थ पहिलो पाइला नेपाल, बुटवल शाखा ले बुटवल–२ स्थित श्री सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैजु वृद्धाश्रम मा खाद्यान्न सामग्री सहयोग गरेको छ।

अष्ट्रेलियामा बसोबास गर्दै आएका विष्णु शर्मा र अनिता शर्मा को आर्थिक सहयोगमा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूको दैनिकीमा सहयोग पुग्ने उद्देश्यले खाद्यान्न सामग्री हस्तान्तरण गरिएको शाखाले जनाएको छ।

कार्यक्रममा बोल्दै शाखा अध्यक्ष गौरव खनाल ले समाजका असहाय, ज्येष्ठ नागरिक तथा आवश्यकता भएका वर्गको सहयोगका लागि संस्थाले निरन्तर काम गर्दै आएको बताए। उनले विदेशमा रहेर पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गर्ने विष्णु शर्मा र अनिता शर्माप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले मानव सेवाको भावनालाई थप मजबुत बनाउने उल्लेख गरे।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका केन्द्रीय सदस्य एवं पूर्व अध्यक्ष सन्तोष बन्जाडेले वृद्धवृद्धाप्रति सम्मान र सहयोग गर्नु समाजको साझा दायित्व भएको बताए। उनले सामाजिक क्षेत्रमा सक्रिय संस्थाहरूले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे।

त्यसैगरी, केन्द्रीय सदस्य तथा वर्तमान अध्यक्ष गोमा भट्टराई ले संस्थाले देश तथा विदेशमा रहेका सहयोगीहरूको साथमा विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएको बताइन्। आगामी दिनमा पनि मानव सेवासम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने उनले जानकारी दिइन्।

कार्यक्रममा शाखाका सल्लाहकार अनुप मान सैजु लगायतले सामाजिक एकता र सहकार्यबाट नै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने बताएका थिए।

शाखाका सचिव सन्तोष सुनार ले सञ्चालन गरेको कार्यक्रममा वृद्धाश्रमका प्रतिनिधि, संस्थाका पदाधिकारी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अवसरमा वृद्धाश्रमलाई चामल, दाल, तेल लगायत दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो। संस्थाले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

You may also like