काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले भारत नभएको भए कर्णाली र सुदूरपश्चिमका जनता भोकै मर्नुपर्ने अवस्था आउने दाबी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले भारतमा नेपालीहरूको श्रमबारे यस्तो टिप्पणी गरेका हुन्।
राष्ट्रिय दलित पत्रकार संघको कार्यक्रममा बोल्दै सांसद सुनारले भने, ‘अहिले पनि नेपालका लाखौँ गरिब, दलित र उपेक्षित वर्ग भारतमा भाँडा माझ्ने, कुल्ली काम गर्ने र सेक्युरिटी गार्डका रूपमा कार्यरत छन्। यदि छिमेकमा भारत नहुँदो हो त, कर्णाली र सुदूरपश्चिमका अधिकांश दाजुभाइ भोकै मर्नुपर्ने अवस्था हुन्थ्यो।’ उनले पन्जाब, दिल्ली र मुम्बईजस्ता सहरमा दलित समुदायसहितका लाखौँ नेपालीले श्रम गरेर आफ्नो जीविकोपार्जन गरिरहेको स्मरण गराए।
सांसद सुनारले भारतलाई गाली गरेर मात्रै राष्ट्रवादी बन्ने परम्परा गलत रहेको औँल्याउँदै प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘इमान्दारिता’ को संज्ञा दिए। उनले भने,’हामीले आफैँले सीमा मिचेको विषयमा पनि स्पष्ट हुनुपर्छ। भारतलाई मात्र धारेहात लगाउँदा दुई देशबीचको सम्बन्ध सुधार हुँदैन र जनताले पनि सुख पाउँदैनन्।’ प्रधानमन्त्रीको भनाइलाई नियोजित रूपमा अतिरञ्जित पारिएको उनको दाबी छ।
सुनारले नेपालले मिचेको भनिएका केही दशगजा क्षेत्रका दृष्टान्त दिँदै दुई देशबीचको सीमा समस्यालाई इमान्दारितापूर्वक समाधान गर्नुपर्नेमा जोड दिए। उनले आफूले मिचेको भूभाग छोड्न तयार भए मात्र भारतले मिचेको जमिन फिर्ता माग्ने नैतिक आधार हुने धारणा व्यक्त गरे।


