आज देशभर बदली, धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना

by समतल अनलाइन
62Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

हाल देशका हिमाली र पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका भू–भागमा आंशिक बदली रहेको विभागले जनाएको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा मधेश, कोशी र बागमती प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ ।

त्यस्तै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै तराई तथा पहाडी भू–भागका केही स्थानमा हावाहुरीको जोखिम पनि रहेको छ ।

You may also like