मैले देखाएको बाटोमा हिँड्नुभएछ : हर्क साम्पाङ

by समतल अनलाइन
66Shares

काठमाडौँ। नेपाल सरकारले घोषणा गरेको ‘सरसफाइ सप्ताह’ अन्तर्गत संघीय संसद् सचिवालयमा आयोजित सरसफाइ कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले हातमा झाडु लिएर सरसफाइ गरे। वैशाख २५ देखि जेठ १ गतेसम्म सञ्चालन भइरहेको यस अभियानमा सभामुखको सहभागितालाई लिएर धरानका मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा टिप्पणी गरेपछि यसले थप चर्चा पाएको छ।

सभामुख अर्यालको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ बमोजिम यो कार्यक्रम आयोजना गरिएको हो। संघीय संसद् सचिवालयका महासचिवको नेतृत्वमा भएको उक्त सरसफाइमा सभामुख अर्यालका साथै राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाकी उपसभामुख र राष्ट्रिय सभाकी उपाध्यक्षको समेत सहभागिता रह्यो। संसद् परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने प्रतिबद्धताका साथ उनीहरूले आफैँ कुचो र झाडु लगाएर सरसफाइ गरे।

सभामुखले सरसफाइ गरिरहेको तस्बिर फेसबुकमा साझा गर्दै धरानका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूले सुरु गरेको अभियानको प्रभाव परेको दाबी गरे। उनले लेखेका छन्, ‘आखिर मैले देखाको बाटोमा हिँड्नु भएछ, धन्यवाद सभामुख ज्यु।’ श्रम संस्कृति र सरसफाइ अभियानलाई प्राथमिकता दिँदै आएका साम्पाङले राज्यका माथिल्लो तहका व्यक्तिहरू पनि सरसफाइमा जुटेको देख्दा खुसी व्यक्त गरे।

सरकारले यो साता देशभरका सरकारी कार्यालय र सार्वजनिक स्थलहरूमा अनिवार्य सरसफाइ गर्न मार्गदर्शन जारी गरेपछि अहिले मन्त्रालयदेखि स्थानीय तहसम्म सरसफाइ अभियान तीव्र पारिएको छ।

You may also like