बुटवल । इन्धनमा भइरहेको निरन्तर मूल्यवृद्धि, आर्थिक मन्दी र सडकको दुरावस्थाका कारण यातायात क्षेत्रमा भएको निजी लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले सार्वजनिक यातायात क्षेत्र अहिले बहुआयामिक चुनौतीको सामना गरिरहेको उल्लेख गरेका छन् ।
बुटवल यातायात प्रा.लि.को शुक्रबार सम्पन्न पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै व्यवसायीहरुले कठिन परिस्थितिका बीच पनि नेपालको यातायात क्षेत्रले उल्लेखनीय फड्को मारेको बताएका हुन् ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रा.लि.का अध्यक्ष रविन्द्रमान श्रेष्ठले यातायात क्षेत्र सुधारका लागि राज्यले दीर्घकालीन तथा प्रभावकारी नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए । उनले आर्थिक मन्दी, इन्धन मूल्यवृद्धि तथा कमजोर सडक अवस्थाका बीच पनि संस्थाले उल्लेखनीय प्रगति गर्न सफल भएको बताए ।
उनका अनुसार सेवा गुणस्तर सुधार, यात्रुको विश्वास कायम राख्ने तथा आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । हाल बुटवल यातायात प्रा.लि.अन्तर्गत साना–ठूला गरी ३७५ वटा सवारी साधन विभिन्न रुटमा सञ्चालनमा रहेका छन् भने दैनिक करिब ५ हजार यात्रुले सेवा लिइरहेका छन् ।
अध्यक्ष श्रेष्ठले आगामी दिनमा डिजिटल प्रणाली विस्तार, नयाँ सवारी साधन थप, सेवा क्षेत्रमा विविधीकरण तथा वातावरणमैत्री यातायात प्रणालीलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना रहेको जानकारी दिए । सार्वजनिक यातायात क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सरकार, व्यवसायी र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
उनले कमजोर सडक पूर्वाधार, ट्राफिक व्यवस्थापनको अभाव, दुर्घटना वृद्धि तथा वायु प्रदूषणलाई यातायात क्षेत्रका मुख्य चुनौतीका रूपमा उल्लेख गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सञ्चालक सदस्य अशोककुमार श्रेष्ठले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
संस्थाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष डिलबहादुर थापाले व्यवसायीको लगानी सुरक्षा र व्यवसायिक स्थायित्वमा जोड दिए । कठिन परिस्थितिमा पनि संस्थाले व्यवसायीको पक्षमा पहल गरिरहेको भन्दै उनले सेवा विस्तारमा ध्यान दिनुपर्ने बताए ।
प्रा.लि.का प्रवन्धक तथा सञ्चालक दीपकप्रसाद श्रेष्ठले विभिन्न नीतिगत निर्णय कार्यान्वयन गरिएको जानकारी दिए । उनका अनुसार दुर्घटना न्यूनीकरण, रुट व्यवस्थापन तथा सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको छ ।
संस्थाले बुटवल, नयाँ बसपार्क काठमाडौं, गोलपार्क र हरैया शाखाबाट अनलाइन टिकट बुकिङ सेवा सञ्चालनमा ल्याएको छ । साथै पोखरा, नारायणघाट, नेपालगञ्ज र सुर्खेत लगायतका रुटमा सेवा विस्तार गरिएको उनले बताए ।
हाल संस्थामा करिब ३७५ वटा सवारी साधन सञ्चालनमा रहेका छन् । दुर्घटनामा परेका सवारी साधनको क्षतिपूर्ति, मर्मत तथा उपचार खर्चबापत करिब १ करोड ८९ लाख ५९ हजार रुपैयाँ अनुमोदन गरिएको संस्थाले जनाएको छ ।
साधारण सभामा संस्थागत विकासमा योगदान पुर्याएका दिवंगत व्यवसायीलाई मरणोपरान्त सम्मान गरिएको थियो । साथै संस्थापक, उत्कृष्ट सेवा गर्ने कर्मचारी तथा व्यवसायीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा लेखा परीक्षक मधु खनाल, सनिको इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख विश्वद्विप नेपाल, शिखर इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख किरण काफ्ले, संस्थापक उपाध्यक्ष लक्ष्मण आचार्य क्षेत्री, सुनिलमान श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




