रास्वपाको प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव

by समतल अनलाइन
41Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकार सम्पन्न प्राधिकरण गठन गरेर अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आइतबार बसेको रास्वपाको सचिवालय बैठकले उक्त सुझाव दिने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार उक्त प्राधिकरणले अव्यवस्थित र सुकुम्बासीहरूको पहिचान गर्ने, लगत संकलन गर्ने र आगामी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशतको व्यवस्थापन गर्नुपर्ने सुझाव दिइएको छ।

रास्वपाले आफ्नो निर्णयमा भनेको छ:

मुलुकभर विद्यमान अव्यवस्थित बसोबासलाई सम्बोधन गर्न सरकारले चाँडै नै यस सम्बन्धी अधिकार सम्पन्न प्राधिकरण गठन गरी वास्तविक भूमिहीनहरूको समस्या समाधान गर्न जोड दिएको हुनाले विभिन्न त्रासको शंकामा नपर्न अनुरोध गर्दै असुरक्षित रूपमा बस्न बाध्यहरुलाई सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको प्राथमिकता रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रको बुँदा नम्बर ८२ मा नै यसलाई व्यवस्थित गर्ने कुरा उल्लेख भएकाले असुरक्षित रूपमा बसोबास गर्दै आउनुभएका भूमिहीन सुकुम्बासी नागरिकहरूको हकमा बाहेक अन्यहरूमा प्राधिकरणको प्रतिवेदन पूर्व कुनै पनि कारबाही अगाडि नबढ्ने कुराको जानकारी गराउँदै सरकारलाई सोही अनुरुप गर्न सुझाव दिने । साथै स्थानीय सरकारहरूले आफ्नो क्षेत्राधिकारको प्रयोग गरी संरचनाहरू भत्काइरहेको सन्दर्भलाई समेत ध्यानमा राखी स्थानीय सरकारलाई पनि यही मर्म अनुरुप व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले अनुरोध गर्ने ।

You may also like