बुटवल । भिजन लुम्बिनी लिमिटेडले पाल्पाको तिनाउ गाउँपालिका–झुम्सा नजिक तिनाउ खोलामा ३.४४ मेगावाट क्षमताको ‘नमः बुद्ध हाइड्रोपावर’ आयोजना निर्माण गर्ने भएको छ। करिब ७० करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजना १५ महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले आयोजना ‘नमः बुद्ध हाइड्रो प्रालि’मार्फत अगाडि बढाइने जानकारी दिएको हो। आयोजनाका लागि लुम्बिनी विकास बैंकसँग लगानी सम्झौता भइसकेको छ, जसअनुसार बैंक र कम्पनीबीच ५०–५० प्रतिशत लगानी रहनेछ।
भिजन ग्रुप अफ कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले सामूहिक लगानीमार्फत स्थानीय स्तरमै आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले आयोजना अघि बढाइएको बताए। उनले यस परियोजनामा पाल्पा तथा रुपन्देहीका स्थानीय बासिन्दाको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै लगानीका लागि आह्वानसमेत गरे। “यो आयोजना यस क्षेत्रकै जनताको हो, स्थानीयलाई लगानीको राम्रो अवसर पनि हो,” उनले भने।
कम्पनीका अनुसार आयोजनाको प्राविधिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन तथा अन्य आवश्यक पूर्वतयारीका काम सम्पन्न भइसकेका छन्। अब निर्माण कार्यको औपचारिक शिलान्यास मात्रै बाँकी रहेको छ। निर्माण सम्पन्न भएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ।
भिजन लुम्बिनी लिमिटेडको हाल करिब १४ करोड रुपैयाँ लगानी रहेको छ। कम्पनीले निकट भविष्यमा राइट शेयर र आईपीओ निष्कासन गर्ने तयारी गरेको छ, जसपछि कम्पनीको कुल पूँजी ५१ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले यसअघि पोखरा–कास्की क्षेत्रमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना सफलतापूर्वक निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ। साथै बज्रमादी (३१ मेगावाट), चमेलिया (२० मेगावाट) लगायतका १२ वटा ठूला जलविद्युत आयोजनामा पनि लगानी गरी काम अगाडि बढाइरहेको जनाएको छ।
कम्पनीका बोर्ड सदस्य राजीव गौतमले भविष्यमा महाकाली र कर्णाली नदी क्षेत्रमा समेत ठूला जलविद्युत आयोजना निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए।
साना तथा मध्यमस्तरका लगानीकर्तालाई समेटेर २०७३ सालमा स्थापना गरिएको भिजन लुम्बिनी लिमिटेडले हाल जलविद्युतसँगै आतिथ्य (हस्पिटालिटी), कृषि, शिक्षा, बीमा, वित्त, रियल स्टेट तथा सूचना प्रविधि (आईटी) लगायतका विविध क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ। कम्पनीले दीर्घकालीन रूपमा ऊर्जा क्षेत्रमा थप योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।




