गुल्मीमा दुई निर्माण कम्पनीद्वारा वर्षौंदेखि श्रमिकको पारिश्रमिक रोकिएको आरोप

by समतल अनलाइन
79Shares

बुटवल । गुल्मी जिल्लामा सञ्चालित दुई निर्माण कम्पनीले वर्षौंदेखि श्रमिकहरूको पारिश्रमिक भुक्तानी नगरेको तथ्य सार्वजनिक भएको छ। सुनिल समिर निर्माण सेवा प्रा.लि. र वान डाइरेक्सन कन्ट्रक्सन प्रा.लिले काम लगाएर पनि श्रमिकहरूको ज्याला नदिएको आरोप लागेको हो।

कम्पनीका व्यवस्थापक नारायण पोख्रेल र निर्देशक सुनिल पोख्रेलले मौखिक सहमतिमा सवारी चालक र भान्सेका रूपमा सातजना श्रमिकलाई काममा लगाएका थिए। ती श्रमिकहरूले २०७५ सालदेखि नै पारिश्रमिक पाउन बाँकी रहेको बताएका छन्।

बारम्बार भुक्तानीको माग गर्दा पनि सुनुवाइ नभएपछि पीडितहरूले ‘हेलो सरकार’ र जिल्ला प्रशासन कार्यालय, गुल्मीमा क्षतिपूर्तिसहित निवेदन दर्ता गरेका छन्। उनीहरूका अनुसार पारिश्रमिक माग्दा कम्पनी पक्षले बेवास्ता गर्ने, धम्की दिने तथा अपमानजनक व्यवहार गर्ने गरेको गुनासो छ।

पीडितमध्ये यम रानाले ३ लाख ११ हजार रुपैयाँ, बसन्त पराजुलीले ७ लाख ६३ हजार ६८४ रुपैयाँ, अर्जुन कुँवरले १ लाख ६७ हजार रुपैयाँ, शेरबहादुर कार्कीले २ लाख ८० हजार रुपैयाँ र झमबहादुर पाण्डेले २ लाख रुपैयाँ पाउन बाँकी रहेको बताएका छन्। त्यसैगरी भान्सेका रूपमा काम गरेका कृष्ण भुसालको १ लाख ५५ हजार र भिमलाल खनालको ३ लाख ६० हजार रुपैयाँ समेत भुक्तानी हुन बाँकी छ।

श्रमिकहरूले लामो समयसम्म ज्याला नपाउँदा दैनिक जीवनयापनमा समस्या परेको बताएका छन्। प्रशासनमा निवेदन दिँदा पनि हालसम्म ठोस पहल नभएको उनीहरूको गुनासो छ।

उता कम्पनीका निर्देशक सुनिल पोख्रेलले भने श्रमिकहरूको पारिश्रमिक दिन बाँकी रहेको स्वीकार गरेका छन्। उनले निर्माण कार्यको भुक्तानी समयमै नआएकाले श्रमिकहरूको रकम रोकिएको बताउँदै अब छिट्टै भुक्तानी गर्ने प्रतिबद्धता जनाएका छन्।

यस प्रकरणमा सम्बन्धित निकायले आवश्यक छानबिन गरी पीडित श्रमिकलाई न्याय दिलाउनुपर्ने माग गरिएको छ।

You may also like

This will close in 0 seconds