गैडहवामा दुबोको माला तथा बुके बनाउने ५ दिने तालिम सम्पन्न, २६ जना सहभागी

by समतल अनलाइन
58Shares

बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका–१ मलावरदेवी चोकमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत दुबोको माला तथा बुके बनाउने ५ दिने सीपमूलक तालिम सम्पन्न भएको छ। तालिममा २६ जना दिदीबहिनी तथा स्थानीय सहभागीले सहभागिता जनाएका छन्।

कार्यक्रमको अध्यक्षता गैडहवा गाउँपालिका -१ का अध्यक्ष प्रदिप कुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका योजना तथा वरिष्ठ प्रशासकीय अधिकृत रचना गौतम को उपस्थिति रहेको थियो।

प्रमुख अतिथि गौतमले स्रोत र साधनको अभावका कारण पछाडि परेका वर्गलाई लक्षित गर्दै यस्ता सीपमूलक तालिम सञ्चालन गरिएको बताइन्। उनले भनिन्, पालिका सधैं नागरिकको सहयोगका लागि तत्पर छ। राज्यले गरेको लगानी खेर नजाओस्, दिदीबहिनीहरूले सिकेको सीपलाई सदुपयोग गरेर आत्मनिर्भर बन्नुहोस्।

गैडहवा–१ का वडा अध्यक्ष प्रदिप चौधरीले यस्ता तालिमले स्थानीय महिलालाई आयआर्जनतर्फ प्रेरित गर्ने बताउँदै भने दुबोको माला र बुके बनाउने सीपले घरमै बसेर पनि आम्दानी गर्ने बाटो खोल्छ। यस्ता तालिमले साना उद्यम सञ्चालनमा थप हौसला प्रदान गर्छ उनले भने ।

तालिमकी उद्यम विकास सहजकर्ता रन्जु थापाले यस तालिमबाट सहभागीहरूलाई सृजनशील बन्न र लघु उद्योग सञ्चालन गर्न प्रेरणा मिल्ने बताइन्।

कार्यक्रममा समाजसेवी टेक नारायण पौडेल को समेत उपस्थिति रहेको थियो। सहभागीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

You may also like