काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचनामा हटाउन आज डोजर चलाउँदैछ ।
बागमती करिडोरको थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रमा डोजर चलाएर आज र भोलिमा अतिक्रमित क्षेत्र खाली गराउने सरकारको तयारी छ ।
सुकुमवासी बस्ती हटाउन प्रहरी प्रशासन र काठमाडौँ महानगरपालिकाको टोली बिहानैदेखि थापाथली क्षेत्रमा परिचालन गरिएको छ ।
बस्ती हटाउन सहरी विकास मन्त्रालय र सडक विभागका २० भन्दा बढी डोजर र १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ ।
प्रशासनले सूचना जारी गरी शुक्रबार साँझसम्म घरटहरा खाली गर्न तथा आफ्ना निजी सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।
विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देश गरेको छ ।



