हिरासतमा श्रीकृष्णको शंकास्पद मृत्यु प्रकरण: रास्वपा सांसदहरु न्याय माग्दै धर्नामा

by समतल अनलाइन
56Shares

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका-३ का २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएको घटनापछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू आफ्नै सरकारसँग न्याय माग्दै धर्नामा बसेका छन् ।

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका विकको शव वैशाख ७ गते साँझ शौचालयको झ्यालमा झुन्डिएको अवस्थामा फेला परेको थियो । मृतकका परिवार र आफन्तले भने प्रहरीको यातनाका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।

सांसद खगेन्द्र सुनार र रीमा विश्वकर्मा विहिबारदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन् । सुनारले लेखेका छन्- ‘हिजोदेखि रातभर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा छौं ! प्रहरीले हत्या गरेको श्रीकृष्ण विकको न्यायको लागि अहिले १० बजे सबैलाई CDO गेटमा उपस्थितिको लागि अपिल छ !!’

रास्वपा सांसद रिमा विश्वकर्माले सामाजिक सञ्जालमा एकातिर दलित समुदायसँग क्षमायाचना अर्को तिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित) नागरिकको शंकास्पद मृत्यु भएको भन्दै सरकारसँग न्याय मागेकी छन् ।

धर्नामा रास्वपा सांसद सुनारसहित रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा र आसिस गजुरेल सहभागी रहेका छन् । उनिःरुले प्रमुख जिल्ला अधिकारी, प्रहरी एसपी र खुर्कोट इलाकाका इन्स्पेक्टरलाई तत्काल निलम्बन गर्न र उच्च स्तरीय संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

मृतककी आमा विन्दामाया विकले एक ज्ञप्तिमार्फत आफ्नो छोराको प्रहरीको यातनाबाट मृत्यु भएको आरोप लगाएकी छन् ।

ललितपुरको सातदोबाटोबाट अन्तरजातीय विवाहको विषयमा पक्राउ परेका विकलाई वैशाख ४ गते खुर्कोट लगिएको थियो । प्रहरीले जबरजस्ती करणीको मुद्दा चलाउन दबाब दिँदै छोरालाई मानसिक र शारीरिक यातना दिएको आमा विन्दामायाले विज्ञप्तिमार्फत बताएकी छन्।

यस घटनाप्रति राष्ट्रिय दलित आयोगले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रहरी हिरासतमा व्यक्तिको मृत्यु हुनु मानव अधिकारको दृष्टिले गम्भीर विषय भएको बताएको छ ।

You may also like

This will close in 0 seconds