काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। त्यस्तै बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भाग, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ।
कोशी प्रदेशको तराईका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ। तर, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा गर्मी बढ्ने अनुमान गरिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर (हीटवेभ) को सम्भावना देखिएको छ।
आज राति भने देशका हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै गएको छ। विभागले विशेषगरी तराई तथा उपत्यकामा गर्मी बढ्ने भएकाले आवश्यक सावधानी अपनाउन र नियमित मौसम अपडेटमा ध्यान दिन आग्रह गरेको छ।




