चीनमा भेटियो विषालु सर्पको नयाँ प्रजाति

by समतल अनलाइन
140Shares

चीनको सिचुआन प्रान्तका कुहिरोयुक्त पहाडहरूमा दशकौँदेखि लुकेर रहेको एउटा चम्किलो हरियो रङको नषाँ विषालु सर्प (पिटभाइपर) फेला परेको छ । उक्त विषालु सर्प वास्तवमा पूर्ण रूपमा नयाँ प्रजाति भएको पुष्टि भएको छ।

वैज्ञानिकहरूले यसअघि यसलाई सामान्य प्रजातिको सर्प ठानेर बेवास्ता गर्दै आएता पनि हालै गरिएको डीएनए विश्लेषणले यसको छुट्टै अस्तित्व प्रमाणित गरेको हो ।
‘जुसिस्टेमेटिक्स एन्ड इभोलुसन’ जर्नलमा प्रकाशित यस खोजले अध्ययन भइसकेका क्षेत्रहरूमा पनि अझै धेरै अज्ञात प्रजातिहरू हुन सक्ने तथ्यलाई उजागर गरेको छ।

चेङ्दु इन्स्टिच्युट अफ बायोलोजी र जायन्ट पाण्डा नेसनल पार्कका अनुसन्धानकर्ताहरूले यो नयाँ प्रजातिको नाम प्राचीन चिनियाँ दार्शनिक ‘लाओजी’ को सम्मानमा ‘ट्रिमेरेसुरस ली’ अर्थात ‘हुवाक्सी ग्रिन पिटभाइपर’ राखेका छन्
लाओजीको दर्शनले मानव र प्रकृतिबीचको सामञ्जस्यपूर्ण सहअस्तित्वमा जोड दिन्छ, जुन यो सर्प फेला परेको राष्ट्रिय निकुञ्जको संरक्षण अभियानसँग मेल खान्छ।

डीएनए र शारीरिक भिन्नता

दशकौँदेखि यो सर्पलाई यसको उस्तै देखिने हरियो रङका कारण सामान्य ‘ब्याम्बो पिटभाइपर’ सम्झने गरिएको थियो।

तर विस्तृत आनुवंशिक परीक्षणले यो सर्पको आफ्नै छुट्टै विकासवादी हाँगा रहेको देखाएको छ। शारीरिक रूपमा पनि यसको टाउकोको कत्लाहरू अन्य सम्बन्धित प्रजातिहरूभन्दा चिल्ला र फरक छन्।

अद्वितीय रूप र स्वभाव

यो नयाँ प्रजातिको सर्पमा भाले र पोथीबीच स्पष्ट भिन्नता देखिन्छ । दुवैको शरीर चम्किलो हरियो भएता पनि भालेको शरीरको छेउमा गाढा रातो र सेतो धर्का हुनुका साथै आँखाको रङ एम्बर जस्तो देखिन्छ ।

पोथीमा भने साधारण पहेँलो धर्का र सुन्तला-पहेँलो आँखा हुन्छ । झन्डै ८० सेन्टिमिटरसम्म लामो हुने यो सर्प अत्यन्तै विषालु हुन्छ र यसले मानिसलाई डस्दा गम्भीर बिरामी बनाउन सक्छ।

जैविक विविधताको केन्द्र

यो सर्प सिचुआनको माउन्ट एमेई र सिलिङ स्नो माउन्टेनको ओसिलो वन क्षेत्रमा फेला परेको हो। यो क्षेत्र विश्वकै समृद्ध जैविक विविधता भएको स्थान मानिन्छ।

अनुसन्धान टोलीका प्रमुख बो काईका अनुसार यो खोजले धेरै वर्षदेखि अन्वेषण भइरहेका स्थानहरूमा पनि अझै धेरै कुराहरू थाहा पाउन बाँकी रहेको पुष्टि गरेको छ ।

वैज्ञानिकहरूले जैविक विविधताका यस्ता केन्द्रहरूमा निरन्तर स्थलगत सर्वेक्षण गरिरहनु पर्नेमा जोड दिएका छन्।

You may also like