स्थानीयलाई सहज विद्युत सेवा, सामाजिक कार्यमा पनि सक्रिय प्रगतिनगर सहकारी

by समतल अनलाइन
35Shares

बुटवल।रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा रहेको प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्था लिमिटेडले विद्युत सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

वि.सं. २०६० कात्तिक १५ गते प्रगतिनगर विकास समूहका रूपमा स्थापना भएको संस्था २०७३ माघ २३ गते सहकारीमा रूपान्तरण भएको हो। तिनाउ नदी किनारमा अवस्थित प्रगतिनगर क्षेत्रमा २०५३ सालतिर अव्यवस्थित बसोबास सुरु भएपछि विद्युतीकरणको आवश्यकता महसुस गर्दै संस्था स्थापना गरिएको अध्यक्ष जीतबहादुर मल्लले जानकारी दिए।

सरकारले २०६० सालमा ल्याएको ग्रामीण सामुदायिक विद्युत योजना अन्तर्गत सुरु गरिएको विद्युतीकरण कार्यक्रम २०६५ मा सफल रूपमा सञ्चालनमा आएको थियो। हाल संस्थाले नियमित र व्यवस्थित विद्युत सेवा प्रदान गर्दै आएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मल्लले संस्थामा हाल १४ वटा १०० केभिए क्षमताका ट्रान्सफर्मर सञ्चालनमा रहेको जानकारी दिए। करिब ३ किलोमिटर उच्च भोल्टेज (एचटी) र १९ किलोमिटर निम्न भोल्टेज (एलटी) लाइन विस्तार गरिएको छ, जसमा अधिकांश थ्रिफेज लाइन छन्। सहकारीमा १,५८३ सिङ्गल फेज र ८ वटा थ्रिफेज खानेपानी ग्राहक आबद्ध छन् भने ५० भन्दा बढी कुटिर उद्योग विद्युत सेवामा निर्भर छन्।

संस्थाले नेपाल विद्युत प्राधिकरणबाट वार्षिक करिब ३० लाख युनिट विद्युत खरिद गरी वितरण गर्दै आएको छ। खरिद र बिक्रीबीच करिब ७ प्रतिशत चुहावट रहेको जनाइएको छ।

१३ सदस्यीय कार्यसमिति र ६ कर्मचारीमार्फत सञ्चालन भइरहेको सहकारीले प्रविधिको प्रयोगमा पनि जोड दिएको छ। ‘दियालो टेक्नोलोजिज’को सफ्टवेयरमार्फत आय–व्यय व्यवस्थापन गरिँदै आएको छ भने उपभोक्तालाई इसेवा र खल्तीमार्फत विद्युत महसुल भुक्तानी सुविधा उपलब्ध गराइएको छ।

सहकारीले उपभोक्ता हितमा विभिन्न सहुलियत कार्यक्रम सञ्चालन गर्दै आएको छ। दशैं–तिहारमा एक महिनाको डिमाण्ड शुल्क छुट, समयमै बिल तिर्नेलाई २ प्रतिशत छुट, निःशुल्क मिटर फाराम तथा सडक बत्ती व्यवस्थापनजस्ता कार्यक्रम सञ्चालनमा छन्।

यसका साथै स्वास्थ्य शिविर, रक्तदान, विद्यालय सहयोग, नदी तटबन्धमा आर्थिक सहयोग, अपांग आश्रमलाई खाद्यान्न वितरणलगायत सामाजिक कार्यमा पनि संस्था सक्रिय छ। शेयर सदस्यको मृत्युमा ११ हजार रुपैयाँ शोक अनुदान, जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गर्ने कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्।

संस्थाले अपी पावर कम्पनी र अरुण काबेली जलविद्युत आयोजनामा करिब १२ लाख ५६ हजार रुपैयाँ लगानी गरेको जनाएको छ। साथै कर्मचारीको जीवन बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा सेवा वडापत्रमार्फत छिटोछरितो सेवा प्रवाहलाई प्राथमिकता दिइएको अध्यक्ष मल्लले बताए।

संस्थाले स्थानीय सरकार, नेपाल विद्युत प्राधिकरण र उपभोक्तासँग समन्वय गर्दै सेवा सुधारमा निरन्तर लागिरहेको जनाएको छ।

You may also like