ओली २१ दिनपछि गुन्डु फर्किए

by समतल अनलाइन
61Shares

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २१ दिनपछि आफ्नो निवास फर्किएका छन्। पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर भक्तपुरको गुण्डुस्थित निवास गएका हुन्।

अध्यक्ष ओलीको गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि शनिबार उनलाई अस्पतालले डिस्चार्ज गरेको उनको सचिवालयले जनाएको छ।

गौरीबहादुर कार्की आयोगको प्रतिवेदनका आधारमा ‘जेनजी’ आन्दोलनका घटनामा अनुसन्धान गर्न प्रहरीले ओलीलाई गत चैत १४ गते पक्राउ गरेको थियो। पक्राउ परेकै दिन स्वास्थ्य जाँचका लागि शिक्षण अस्पताल लगिएका उनमा स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

प्रहरीले उनलाई अस्पतालमै हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा उनकी पत्नी राधिका शाक्यले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। अदालतको परमादेशपछि ओली चैत २६ गते हिरासतमुक्त भएका थिए।

हिरासतमुक्त भए पनि पित्तथैलीको शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अस्पतालमै रहेका थिए। चैत ३० गते सफल शल्यक्रिया सम्पन्न भई स्वास्थ्य उपचारपछि उनी शनिबार घर फर्किएका हुन्।

You may also like