दीप बोर्डिङद्वारा कक्षा १२ का विद्यार्थीलाई बधाई तथा सम्मान

by समतल अनलाइन
76Shares

बुटवल । दीप बोर्डिङ स्कुलले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई बधाई तथा सम्मान गरेको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सभाहल (बीसीसीआई) मा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई आगामी परीक्षाका लागि शुभकामना व्यक्त गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुखले विद्यार्थीहरूलाई परीक्षा देखेर डराउन नभई त्यसलाई अवसरका रूपमा लिन आग्रह गर्नुभयो । उहाँले कक्षा ११ बाट १२ मा प्रवेश गरेका विद्यार्थीहरूलाई सकारात्मक सोचका साथ अध्ययन गर्न र परीक्षालाई आत्मविश्वासका साथ रमाउँदै सामना गर्न सुझाव दिनुभयो ।

उहाँले विद्यार्थीहरूलाई सक्षम, अनुशासित र लक्ष्यप्रति प्रतिबद्ध बन्न आग्रह गर्दै उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गर्नुभयो ।

साथै कक्षा १२ उत्तीर्ण गरेपछि सकेसम्म नेपालमै बसेर आफ्नो ज्ञान, सीप र क्षमतालाई देश विकासमा प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले कक्षा १२ का विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए । विद्यालयका ६ वटा सेक्सनका विद्यार्थीहरूलाई समेत विशेष सम्मान गरिएको थियो ।

त्यसैगरी दीप बोर्डिङ स्कुलका प्रिन्सिपल टिकाराम न्यौपानेले नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरूको प्रतिभा, मेहनत र उपलब्धिको कदर गर्दै यस्तो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीमा थप हौसला र जिम्मेवारीबोध बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यस अवसरमा पूर्व दीप क्लबका सदस्यहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम संचालन शिक्षक पुरुषोत्तम पाण्डेले गर्नुभएको हो।

You may also like