देशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी चल्न सक्ने

by समतल अनलाइन
77Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अहिले नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हाल देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रसँगै अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको तराई तथा बाँकी पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने सम्भावना छ।

कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा, साथै बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। बाँकी हिमाली क्षेत्र तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना छ।

यसैगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका केही स्थानमा हावाहुरी चल्न सक्ने विभागले जनाएको छ।

आज राति पनि देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा तथा अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

You may also like