बुटवल । नेवा सेवा समितिको १७ औँ वार्षिक साधारण सभा शुक्रबार बुटवल–११ देवीनगरस्थित भूपू सैनिकको प्रांगणमा सम्पन्न भएको छ । समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम ज्येष्ठ सल्लाहकार ओमप्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष दल बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै नेवा समुदायको भाषा, कला, संस्कृति र मौलिक परम्पराको संरक्षणमा संस्थाले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए। उनले यस्ता कार्यक्रमले समुदायबीच आपसी एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उल्लेख गरे ।

साधारण सभामा अध्यक्ष डिल्ली कुमार श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा संस्थाले सञ्चालन गरेका सामाजिक, सांस्कृतिक तथा समुदायमुखी गतिविधिहरूको विवरण प्रस्तुत गरे। त्यसैगरी कोषाध्यक्ष प्रमोद कसजुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आय–व्यय तथा आर्थिक अवस्थाबारे जानकारी गराए।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार नवराज श्रेष्ठ, मानकाजी श्रेष्ठ, बसन्ती श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले नेवा कला, भाषा र संस्कृतिको जगेर्नामा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
साधारण सभाको अवसरमा समाजमा योगदान पुर्याएका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। साथै कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ।
त्यसैगरी पत्रकारिताको माध्यमबाट नेवा कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै पत्रकार सन्त कुमार श्रेष्ठ लाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको छ।कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए।





