बुटवल। बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा अन्तिम चार टोलीको टुंगो लागेको छ। वर्षाका कारण बुधबार स्थगित तेस्रो क्वाटरफाइनल खेल बिहीबार सम्पन्न गरिएको थियो।
बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा मोनष्टर गाईजले अभिषेक चर्चलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
यस्तै, अन्तिम क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुरले आयोजक सौभाग्य युवा क्लबलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको छ।
सिद्धेश्वर खेलमैदानमा बिहीबार दिउँसो सम्पन्न पहिलो खेल निकै रोमाञ्चक बनेको थियो। मोनष्टर गाईजका रोजल दाहालले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर २०औँ मिनेटमा अभिषेक चर्चका बिक्रम लामाले कर्नर किकलाई सदुपयोग गर्दै बराबरी गोल फर्काए।
खेलको २५औँ मिनेटमा मोनष्टर गाईजका आमोस रानाले डिबक्स बाहिरबाट आकर्षक गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि अभिषेक चर्चका कप्तान सुजित बुढाथोकीले बराबरी गोल गरे।
४६औँ मिनेटमा अभिषेक चर्चले पेनाल्टीको अवसर पाएको थियो। सुजित बुढाथोकीको प्रहार मोनष्टर गाईजका गोलरक्षक प्रतिक सुनारले रोके पनि रिबाउन्ड भएको बललाई पुनः सुजितले नै जाली चुमाउँदै टोलीलाई ३–२ को अग्रता दिलाए।
तर खेलको ५७औँ मिनेटमा मोनष्टर गाईजका अभिषेक महतोले निखिलको पासलाई गोलमा परिणत गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो, जहाँ मोनष्टर गाईज विजयी बन्यो।
यसैगरी अन्तिम क्वाटरफाइनलमा झरना स्पोर्टिङ क्लब र आयोजक सौभाग्य युवा क्लबबीचको खेल पनि निकै प्रतिस्पर्धात्मक रह्यो। झरनाका रिजन क्षेत्रीले १९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने आयोजकका अभय योमीले ३१औँ मिनेटमा बराबरी गोल फर्काए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो, जहाँ झरना विजयी भयो।
प्रतियोगिताको विजेता टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
क्लबका सचिव प्रकाश क्षेत्रीका अनुसार विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ।प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी र कपिलवस्तुका १२ क्लब सहभागी छन्।





