लेबनानमा इजरायलको भीषण आक्रमण, २५४ जनाको मृत्यु

by समतल अनलाइन
44Shares

काठमाडौं । इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न क्षेत्रमा भीषण आक्रमण गरेको छ। बुधबार गरिएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

आक्रमणमा ११ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेको संख्या धेरै रहेकाले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

इरानको इस्लामिक रिभोलुशनरी गार्ड्स कोर्प्सले उक्त आक्रमणको निन्दा गर्दै इजरायलले यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएको जनाएको छ। आक्रमणको विरोधस्वरूप इरानले हर्मुज जलघाँटीबाट तेलका ट्यांकर बाहिरिनमा रोक लगाएको उल्लेख गरिएको छ।

अर्ध–सरकारी फार्स न्युज एजेन्सीका अनुसार हर्मुज जलघाँटी बन्द गर्ने निर्णय सार्वजनिक गरिएको हो। यसअघि बुधबार बिहान हर्मुज जलघाँटी खोल्ने र १४ दिनका लागि युद्धविराम गर्ने विषयमा सहमति भएको उल्लेख गरिएको थियो। सोही सहमतिअनुसार दुई वटा तेलका ट्यांकरले अनुमति लिएर जलघाँटी पार गरेका थिए।

रिभोलुशनरी गार्ड्सले तत्कालका लागि युद्धविराम कायम रहे पनि आवश्यक परे कारबाहीका लागि तयारी अवस्थामा रहेको प्रतिक्रिया दिएको जनाइएको छ। इरान र अमेरिका दुवैले उक्त युद्धविरामलाई आफ्नो पक्षमा भएको दाबी गरेका थिए।

यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसम्बन्धी विषय युद्धविराममा समावेश नरहेको बताएका थिए।

You may also like

This will close in 0 seconds