समस्यामा उद्योग, समाधानको खोजीमा उद्योग संघ: ‘फस्ट च्वाइस फुड्स’बाट अन्तरसंवाद सुरु

by समतल अनलाइन
53Shares

बुटवल।रूपन्देही उद्योग संघले समस्यामा परेका उद्योगहरूको स्थलगत भ्रमण गर्दै उद्योगीका गुनासा, चुनौती र समाधानका उपायबारे अन्तरसंवाद सुरु गरेको छ। उद्योग क्षेत्रमा कच्चा पदार्थको अभाव, बढ्दो मूल्यवृद्धि, निर्यातमा कानुनी जटिलता तथा पटक–पटक विद्युत् लाइन काटिने समस्या जस्ता विषयमा संघले उद्योगीहरूसँग प्रत्यक्ष छलफल थालेको हो।

यस अभियानको सुरुआत रूपन्देहीको मैनहियामा सञ्चालित नेपालकै सबैभन्दा ठूलो तथा एक मात्र फ्रेन्च फ्राइ उत्पादक उद्योग ‘फस्ट च्वाइस फुड्स प्रा.लि.’ को स्थलगत अवलोकनबाट गरिएको संघले जनाएको छ। संघका पदाधिकारीहरूले उद्योगको उत्पादन प्रक्रिया, कच्चा पदार्थ आपूर्ति, निर्यात अवस्था र सञ्चालनमा देखिएका समस्याबारे जानकारी लिएका छन्।

संघका अध्यक्ष कृष्ण प्रसाद पराजुली ले उद्योग सञ्चालनमा देखिएका नीतिगत समस्याका विषयमा संघले निरन्तर पैरवी गर्दै आएको बताउनुभयो। उहाँले नेपाल उद्योग परिसंघसँगको सहकार्यमा समस्या समाधानका लागि थप पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अध्यक्ष पराजुलीले उद्योगीहरूलाई आफ्ना समस्या संस्थागत रूपमा संघमा जानकारी गराउन आग्रह गर्दै अधिकांश उद्योगका समस्या समान प्रकृतिका भएकाले सामूहिक रूपमा समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

संघका महासचिव सुमन बस्याल ले उद्योगीहरूको समस्या समाधानका लागि अभियानकै रूपमा उद्योग भ्रमण सुरु गरिएको बताउनुभयो। विशेषगरी निर्यातमुखी उद्योगहरूले भोगिरहेका नीतिगत समस्या समाधानका लागि संघले संस्थागत पहल गर्ने उहाँको भनाइ छ।

“उद्योग क्षेत्रलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीच प्रभावकारी समन्वय आवश्यक छ,” महासचिव बस्यालले भन्नुभयो।

उद्योगका सञ्चालक कृष्ण प्रसाद पौडेल ले आयात प्रतिस्थापन गर्दै निर्यातमुखी उत्पादन गर्ने लक्ष्यसहित उद्योग सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उद्योगमा हालसम्म दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।

उहाँले निर्यातमा कानुनी जटिलता रहेको उल्लेख गर्दै आलु उत्पादन वृद्धि गर्न सरकारी नीति कमजोर रहेको गुनासो गर्नुभयो। उद्योगले किसानलाई बजारको सुनिश्चितता दिन बजार मूल्यभन्दा बढी मूल्यमा आलु खरिद गरिरहेको समेत उहाँले बताउनुभयो।

उद्योगका प्रबन्धक लक्ष्मी पौडेल ले विश्व बजारमा प्रवेशसँगै उत्पादनको सम्भावना बढेको बताउनुभयो। तर, निर्यातमा देखिएका कानुनी जटिलता सहज बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो।

खुला सिमानाका कारण कम गुणस्तरका भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्नुपर्दा समस्या भएको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

रूपन्देही क्षेत्र आलु उत्पादनका लागि निकै उपयुक्त रहेको उल्लेख गर्दै किसानलाई बजारको ग्यारेन्टीबारे थप जानकारी गराउन आवश्यक रहेको उहाँको भनाइ थियो। ठूलो परिमाणमा उत्पादन वृद्धि गर्न किसान, उद्योग र सरकारबीच सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो।

गुणस्तरलाई विशेष ध्यान दिँदै उद्योग सञ्चालन गरिएको उल्लेख गर्दै उहाँले कृषक, उद्योग र राज्यको सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयो।

संघले आगामी दिनमा अन्य समस्यामा परेका उद्योगहरूको पनि भ्रमण गर्दै उद्योग क्षेत्रका साझा समस्या संकलन गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने जनाएको छ। उद्योग क्षेत्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्र र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको संघको निष्कर्ष छ।

You may also like

This will close in 0 seconds