पश्चिमाञ्चल यातायात व्यवसायी समितिमा नयाँ नेतृत्वलाई पद हस्तान्तरण

by समतल अनलाइन
38Shares

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको हालै सम्पन्न २५औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई मंगलबार एक समारोहबीच पद हस्तान्तरण गरिएको छ।

निवर्तमान अध्यक्ष टीकाराम गौतम नेतृत्वको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष यामबहादुर जिसी नेतृत्वको नयाँ टोलीलाई औपचारिक रूपमा पद हस्तान्तरण गरेको हो।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष जिसीले व्यवसायीबीच एकता कायम गर्दै व्यवसायीहरूको हकहित र संस्थाको हितका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ नेतृत्वलाई सफल बनाउन सबै व्यवसायीको साथ, सहयोग र सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो।

समितिको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो। शपथ ग्रहणसँगै निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

सो अवसरमा संयोजक पाण्डेले लोकतान्त्रिक पद्धतिबाट आएको नयाँ नेतृत्वले संस्थाभित्र रहेका चुनौतीहरूलाई आत्मसात गर्दै समितिलाई नमुना संस्थाका रूपमा विकास गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा अध्यक्ष पदका प्रत्याशी प्रतावबहादुर कार्की र पंकज राईले नयाँ नेतृत्वलाई शुभकामना दिँदै समितिलाई व्यवसायीको पक्षमा अझ सक्रिय र चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो।

समितिका पूर्वअध्यक्ष रामेश्वर प्रसाद श्रेष्ठले पनि नयाँ नेतृत्वलाई व्यवसायीहरूको संरक्षण, हकहित र संस्थागत सुदृढीकरणमा विशेष ध्यान दिन सुझाव दिनुभयो।

यसैगरी, निवर्तमान महासचिव खिमबहादुर थापा नारायणले नवनिर्वाचित महासचिव बसन्त खड्कालाई माइन्युट हस्तान्तरण गर्नुभयो भने निवर्तमान कोषाध्यक्ष शंकर लम्सालले नवनिर्वाचित कोषाध्यक्ष काशीराम पोखरेललाई चेकबुक हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा कार्यालय प्रमुख प्रकाश गैरेले नयाँ नेतृत्वले संस्थाका कर्मचारीहरूको मनोबल उच्च राख्ने गरी कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्दै सहकार्य र सहमतिका आधारमा अघि बढ्न सुझाव दिनुभयो।

You may also like

This will close in 0 seconds