उत्कृष्ट कार्यसम्पादनमा पश्चिम नेपाल यातायात सहकारी प्रथम

by समतल अनलाइन
84Shares

हरिश ढकाल
बुटवल
। स्थापनाको छोटो अवधिमै उत्कृष्ट कार्यसम्पादन गर्न सफल पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशभरिका बहुउद्देश्यीय सहकारीमध्ये प्रथम बन्न सफल भएको छ।

६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले राप्ती उपत्यका (देउखुरी)मा आयोजना गरेको कार्यक्रममा पल्स, एमसिआई र सुशासनका सूचकका आधारमा उक्त सहकारी उत्कृष्ट घोषित भएको हो।

हालै चौथो साधारण सभा सम्पन्न गरेको सहकारीलाई मुख्यमन्त्री चेतनारायण आर्चायले “उत्कृष्ट कार्यसम्पादन” विधामा प्रथम पुरस्कारस्वरूप नगद २५ हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन्।

संस्थाको सुशासन, पारदर्शिता र सदस्य–केन्द्रित सेवाकै कारण छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको सहकारीका अध्यक्ष दधिराम खरेलले बताए। उनले भने, “यो सहकारी विशेषगरी यातायात व्यवसायी, मजदुर, चालक तथा कर्मचारी र उनीहरूका परिवारको आर्थिक हितका लागि स्थापना गरिएको हो।”
यातायात क्षेत्रसँग आबद्ध व्यक्तिहरूको हकहित संरक्षण र आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले २०७८ सालमा स्थापना भएको सहकारीमा हाल ३ हजार ३८३ शेयर सदस्य रहेका छन्। तीमध्ये २ हजार ९०१ पुरुष र ४८२ महिला सदस्य रहेका छन्।

सहकारीको कुल शेयर पूँजी १ करोड ८२ लाख ७४ हजार १०० रुपैयाँ रहेको छ भने निक्षेप ९ करोड २ लाख ४२ हजार ९ रुपैयाँ र कर्जा लगानी १० करोड ३३ लाख ४८ हजार ४३६ रुपैयाँ पुगेको छ। संस्थाको कुल वासलात ११ करोड ४९ लाख २८ हजार ४३६ रुपैयाँ रहेको छ।
प्रबन्ध सञ्चालक रामचन्द्र भुसालका अनुसार यातायात क्षेत्रमा जीवनको महत्वपूर्ण समय बिताउने चालक तथा मजदुरहरूको भविष्य सुरक्षित गर्न सहकारीमार्फत सानो–सानो बचत संकलन गरी आर्थिक सहयोग गर्ने उद्देश्य लिइएको हो।

सहकारीले सदस्यहरूको दुर्घटना मृत्यु भएमा १५ देखि २२ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। हालसम्म ४ जना सदस्यका परिवारले उक्त सुविधा लिइसकेको सहकारीका सचिव जितेन्द्र खत्रीले जानकारी दिए।
प्रविधिमैत्री सेवा विस्तार गर्दै सहकारीले मोबाइल बैंकिङ र एसएमएसमार्फत सदस्यलाई वित्तीय जानकारी उपलब्ध गराउँदै आएको व्यवस्थापक प्रशान्त सोमै मगरले बताए।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले विभिन्न चार विधामा पाँच सहकारी संस्थालाई पुरस्कृत गरेको छ। बहुउद्देश्यीयतर्फ बुटवलस्थित यही सहकारी, बचत तथा ऋणतर्फ किसान कमैया कल्याण (बर्दिया) र राप्ती विश्वासी (दाङ), उत्पादकतर्फ साना किसान कृषि सहकारी (बाँके) तथा उपभोक्तातर्फ तुलसी उपभोक्ता सहकारी (दाङ) पुरस्कृत भएका छन्।

प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजान ऐन–कानुन समयानुकूल परिमार्जन आवश्यक रहेको बताए।

You may also like

This will close in 0 seconds