भैरहवामा लागूऔषधसहित तीन जनालाई प्रहरीले समात्यो

by समतल अनलाइन
104Shares

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरी ठूलो मात्रामा लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
आइतबार साँझ करिब ७:२० बजे रोहिणी–४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

कोटहवाबाट छिपागढतर्फ जाँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई चेकजाँचका लागि रोक्न खोज्दा नरोकी भाग्ने क्रममा मोटरसाइकल पल्टिएको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरूले प्रहरी टोलीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर र थप एक राउण्ड गोली प्रहार गरेको थियो।

गोली लागेर रोहिणी–२ खुरहुरियाका विशाल यादव घाइते भएका छन्। उनको बायाँ खुट्टाको पिडुलामा गोली लागेको छ र हाल भीम अस्पताल मा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

घटनामा संलग्न भारतको महाराजगंजका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूको साथबाट फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल गरी जम्मा ३३०० एम्पुल प्रतिबन्धित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

You may also like

This will close in 0 seconds