बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२ मा डिफेन्डिङ च्याम्पियन झरना स्पोर्टिङ क्लब कुन्जलापुर शानदार जितसंगै क्वाटरफाईनलमा स्थान बनाएको छ ।
आईतबार भएको रोमान्चक खेलमा योग ब्यायज एफसी देवदहलाई
३–१ गोल अन्तरले पराजित गर्दै झरना क्वाटरफाईनलमा प्रवेश गरेको हो । झरनाले अब क्वाटरफाईनलमा आयोजक सौभाग्य युवा क्लबसंग खेल्नेछ ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलको २२ औ मिनेटमा योग ब्यायजका सागर कटुवालले गोल गर्दै टिमलाई अग्रता दिलाए । डिबक्स बाहिरबाट कटुवालले गरेको बल प्रहार जाली चुम्यो । पहिलो हाफमा एक गोलले पछि परेको झरना दोस्रो हाफमा भने फर्कन सफल भयो । खेलको ४७ औ मिनेटमा झरनाका मनिष मगरले बराबरी गोल प्रहार गरे । बिक्की चामलिङ राईले लगत्तै एक मिनेटमा अर्को गोल थपे । खेलमा दिपेश घलेले ६७ औ मिनेटमा निर्णायक गोल गर्दै झरनालाई बिजय बनाए ।
सोमबारदेखी क्वाटरफाईनलका खेलहरु शुरु हुनेछन । पहिलो क्वाटरफाईनलमा देवदह ब्यायज रुपन्देही र हनामी बिएफसी चितवनका बिचमा खेल हुने क्लबका सचिव प्रकाश क्षेत्रीले बताए ।
रुपन्देहीमा नै सर्वाधिक राशिफलको क्लबद्धारा संचालन गरिएको गोल्डकप भएको आयोजक क्लबका अध्यक्ष सुजु मल्लको दाबी छ । मैदानलाई आर्कषक सजावटसंगै मैदानको पश्चिम, पूर्व र दक्षिणतर्फ करीब २ हजार क्षमताको अस्थाई प्याराफिट समेत निमार्ण गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख ५ हजार रुपैयाँ र उपविजेताले २ लाख ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा कोचलाई नगद पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव प्रकाश क्षेत्रीले बताए । प्रतियोगितामा रुपन्देहीसहित चितवन, नवलपरासी, कपिलबस्तुका गरि १२ क्लबहरुले भाग लिएका छन ।




