अबु धाबीमा क्षेप्यास्त्रको भग्नावशेष खस्दा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

by समतल अनलाइन
40Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा क्षेप्यास्त्र अवरोध (इन्टरसेप्ट) गर्दा खसेको भग्नावशेष लागेर सात जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

यूएईको अबु धाबी मिडिया अफिसका अनुसार अज्बान क्षेत्रमा आकाशमै क्षेप्यास्त्र र ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेपछि त्यसको भग्नावशेष जमिनमा खसेर १२ जना घाइते भएका हुन्। घाइतेमध्ये सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन्। एक नेपालीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।

पछिल्लो समय पश्चिम एसियामा युद्ध चर्किँदै जाँदा त्यहाँ कार्यरत नेपालीहरूको सुरक्षालाई लिएर गम्भीर चिन्ता बढेको छ। यसअघि पनि यूएईमा यस्तै घटनामा एक जना नेपालीले ज्यान गुमाएको समाचार सार्वजनिक भएको थियो।

क्षेप्यास्त्र अवरोध गर्ने क्रममा खसेका भग्नावशेषका कारण सर्वसाधारण घाइते हुनु क्षेत्रीय तनावको प्रत्यक्ष असर भएको विश्लेषण गरिएको छ। यूएईका सम्बन्धित निकायले घाइतेहरूको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

You may also like