बुटवल।यातायात व्यवस्था कार्यालय, बुटवल परिसरबाट सेवाग्राहीसँग कमिसन लिँदै आएका दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
सेवाग्राहीलाई छिटो काम गरिदिने बहानामा आर्थिक लेनदेन गर्दै आएको सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरीले बिहीबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटाका २५ वर्षीय सरोज खनाल र गुल्मी छत्रकोट गाउँपालिका घर भई हाल बुटवल–१३, बेलबास बस्दै आएकी ३७ वर्षीया कुसुम मरासिनी रहेकी छन्।
उनीहरूलाई हाल इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र आवश्यक अनुसन्धान भइरहेको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।
प्रहरीका अनुसार यातायात कार्यालयभित्र हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न निगरानी कडा पारिएको छ। साथै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न कार्यालयमा ‘नागरिक सहायता कक्ष’ समेत स्थापना गरिएको जनाइएको छ।




