हरिश ढकाल
बुटवल। नेपालकै ठूलो यातायात व्यवसायी संस्थामध्ये एक पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले यस वर्ष आफ्नो छैटौं वार्षिक साधारण सभा नयाँ अभ्यासका साथ सञ्चालन गरेको छ। परम्परागत रूपमा एकै दिन सम्पन्न गरिने औपचारिक कार्यक्रमभन्दा फरक यसपटक साधारण सभा पाँच दिनसम्म चरणबद्ध रूपमा सञ्चालन गरिएको हो। चैत १४ गतेदेखि सुरु भएको सभा १८ गतेसम्म चल्नेछ। विभिन्न रुटअनुसार व्यवसायीहरूलाई छुट्टाछुट्टै समूहमा समावेश गरेर संवादमुखी र सहभागीमैत्री ढंगले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ।

संस्थाका अध्यक्ष दधिराम खरेल का अनुसार विगतमा सबै व्यवसायीका गुनासा, जिज्ञासा र समस्याहरू प्रभावकारी रूपमा सुनुवाइ हुन नसकेको गुनासो आउने गरेको थियो। यही कारण यसपटक सबैको आवाज सुन्ने र समाधान खोज्ने उद्देश्यले नयाँ मोडलमा साधारण सभा आयोजना गरिएको उनले बताए। उनका अनुसार यो अभ्यासले व्यवसायीहरूलाई आफ्ना समस्या खुलस्त राख्ने र व्यवस्थापन पक्षले प्रत्यक्ष रूपमा समाधान खोज्ने अवसर प्रदान गर्नेछ।
हाल संस्थाअन्तर्गत २ हजार २ वटा सवारी साधन सञ्चालनमा रहेका छन्, जसले यसलाई नेपालकै ठूलो यातायात संस्थामध्ये एक बनाएको छ। संस्थाले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म तथा दक्षिणको बेलहियादेखि उत्तरको मनाङ–मुस्ताङसम्म सेवा विस्तार गरेको जनाएको छ। तराई, पहाड र उच्च हिमाली भूभागसम्म नियमित यातायात सेवा दिँदै आएको संस्थाले यात्रु सेवा गुणस्तर सुधारका लागि पुराना र कमजोर अवस्थाका बसहरू विस्थापन गर्ने नीति समेत अघि बढाएको छ। पछिल्लो समय ६ मोडलसम्मका पुराना बस हटाई व्यवसायीलाई मुआब्जा दिने व्यवस्था गरिएको संस्थाले जनाएको छ।

प्रबन्ध सञ्चालक रामचन्द्र भुसाल ले पछिल्लो समय यातायात क्षेत्र सहज अवस्थामा नरहेको बताए। नीति–नियमको जटिलता, प्रशासनिक अवरोध, इन्धन मूल्यवृद्धि र बढ्दो बजार प्रतिस्पर्धाले व्यवसायमा चुनौती थपिएको उनको भनाइ छ। यद्यपि यात्रु सुरक्षालाई केन्द्रमा राख्दै सेवा निरन्तरता दिन संस्था प्रतिबद्ध रहेको उनले बताए। सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएको अभियानका कारण पछिल्लो समय दुर्घटनामा केही कमी आएको संस्थाको दाबी छ। बेलाबेलामा हुने दुर्घटनाले संस्थालाई अझ जिम्मेवार र संवेदनशील बन्न प्रेरित गरेको व्यवस्थापन पक्षले जनाएको छ।
लेखा सञ्चालक मोहन पिइस का अनुसार अब संस्थाले सेवा प्रणालीलाई डिजिटल बनाउने अभियान सुरु गरेको छ। प्रशासनिक कामलाई व्यवस्थित गर्ने, पारदर्शिता बढाउने, कर्मचारी व्यवस्थापन सुधार गर्ने तथा सेवा गुणस्तर उकास्ने काम भइरहेको उनले जानकारी दिए। यातायात क्षेत्रमा अझै पनि अव्यवस्थित प्रतिस्पर्धा, नीतिगत अस्पष्टता, अनाधिकृत सवारी सञ्चालन तथा सडक सुरक्षाका चुनौतीहरू कायम रहेको भए पनि स्पष्ट नीति, प्रविधिको प्रयोग र व्यवस्थित प्रतिस्पर्धासँगै संस्था अझ सशक्त बन्ने विश्वास उनले व्यक्त गरे।
चरणबद्ध रूपमा सञ्चालन भइरहेको साधारण सभामा विभिन्न रुटअनुसार व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको छ। पहिलो दिन भैरहवा–काठमाडौँ, स्कूल तथा कलेज मासिक रुटलगायतबाट ५ सय ३७ जना सहभागी भएका थिए। दोस्रो दिन स्याङ्जा–पोखरा, बाग्लुङ, बेनी तथा नारायणगढ–पोखरा रुटबाट ३ सय ३९ जना उपस्थित भएका थिए। तेस्रो दिन पाल्पा, रामपुर–काठमाडौँ, गुल्मी र अर्घाखाँची–काठमाडौँ रुटबाट ४ सय ५ जना सहभागी भएका कर्मचारी राजन शर्मा ले बताए। मंगलबार पश्चिम प्रखण्डअन्तर्गत बुटवल–कृष्णनगर, तौलिहवा, परासी, मर्चवार, लुम्बिनी लगायतका रुटबाट ४ सय २७ जना सहभागी हुनेछन् भने अन्तिम दिन बुटवल–सालझण्डी, बर्दघाट, त्रिवेणी तथा बुटवल–भैरहवा–नगर रुटबाट ४ सय ७८ जना सहभागी रहनेछन्।
साधारण सभाको अवसरमा वृहत रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको छ। साथै लामो समयसम्म सवारी सञ्चालन गर्दा कुनै दुर्घटना नगरेका उत्कृष्ट चालकहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ। यातायात क्षेत्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका बेला पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. ले अपनाएको यो नयाँ अभ्यास केवल साधारण सभा मात्र नभई व्यवस्थापन सुधार, संवाद विस्तार र भविष्यतर्फको स्पष्ट संकेतका रूपमा हेरिएको छ। प्रविधि, पारदर्शिता र यात्रु सुरक्षालाई प्राथमिकता दिँदै अघि बढेमा यो संस्था नेपालकै यातायात क्षेत्रको उदाहरणीय मोडेल बन्न सक्ने देखिन्छ।




