बुटवल । बुटवलको ईटाभट्टी क्षेत्रमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।
बुटवल उपमहानगरपालिका–९ ईटाभट्टीस्थित खत्री मेडिकल नजिक भित्री सडक खण्डमा दिउँसो करिब ३ बजे बा प्र ०३००१ ज १२२९ नम्बरको ईभी हाइस र रा १ ह ४४३४ नम्बरको ई–रिक्सा एकआपसमा ठोक्किएका हुन्। ईभी हाइस तिनकुनेबाट बसपार्कतर्फ जाँदै थियो भने ई–रिक्सा विपरीत दिशाबाट आइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ई–रिक्सा चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका घर भई हाल बुटवल–१ मा बसोबास गर्दै आएका ३२ वर्षीय गोबिन्द बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
त्यस्तै, ई–रिक्सामा सवार बुटवल–२ मैनाबगरकी २३ वर्षीया कृतिका आले मगर गम्भीर घाइते भएकी छन्। उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। हाल उनको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनापछि प्रहरीले ईभी हाइस चालक चितवन भरतपुर महानगरपालिका–१५ रामपुर निवासी ३४ वर्षीय साजन परियारलाई नियन्त्रणमा लिएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन पनि नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




