बश्याल वंश समाज नेपालको महाधिवेशन सम्पन्न, रामप्रसाद बश्याल पुनः अध्यक्ष

by समतल अनलाइन
55Shares

बुटवल। बश्याल वंश समाज नेपालको ३०औँ वार्षिक साधारणसभा, स्थापना दिवस तथा आठौँ महाधिवेशन सोमबार सम्पन्न भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पर्सहवास्थित केन्द्रीय कार्यालयमा सम्पन्न महाधिवेशनले पुनः रामप्रसाद बश्यालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

निर्वाचन समितिका संयोजक रामप्रसाद बश्यालका अनुसार वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद बश्याल, उपाध्यक्षद्वयमा होमराज बश्याल र विष्णुप्रसाद बश्याल, महासचिवमा जीवलाल बश्याल तथा कोषाध्यक्षमा होमकान्त बश्याल (शंकर) निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा टिकिसरा बश्याल, सह–सचिवमा शेषनारायण बश्याल र सह–कोषाध्यक्षमा चेतप्रसाद बश्याल चयन भएका छन्।

समितिका सदस्यहरूमा बैकुण्ठप्रसाद बश्याल, भीमप्रसाद बश्याल, कमला बश्याल, तिलकप्रसाद बश्याल, हुमप्रसाद बश्याल, गोविन्दप्रसाद बश्याल, हरिदत्त बश्याल, लक्ष्मण बश्याल, यज्ञप्रसाद बश्याल र दयाराम बश्याल चयन भएको निर्वाचन समितिका सदस्य अधिवक्ता नगेन्द्र बश्यालले जानकारी दिए।

कार्यक्रममा बोल्दै वरिष्ठ सल्लाहकार कौशलराज बश्यालले देशका विभिन्न भागमा रहेका बश्याल बन्धुहरू संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए। उनले आपसी भाइचारा अभिवृद्धिसँगै राष्ट्रिय हित, उन्नति र प्रगतिमा समाजले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा नेपाल सरकारका पूर्वसचिव हरिप्रसाद बश्यालले समाज गठनले पुस्तागत जानकारी सुरक्षित राख्नुका साथै सुख–दुःख साटासाट गर्ने र सहयोगी भावना विकास गर्ने भएकाले सबैको सहकार्य आवश्यक रहेको बताए। उनले समाजको केन्द्रीय कार्यालय भवन निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गर्ने प्रतिबद्धता समेत जनाए।

समाजका केन्द्रीय अध्यक्ष रामप्रसाद बश्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाबारे जानकारी गराए। देशका विभिन्न भागमा छरिएर रहेका बश्याल बन्धुहरूलाई एउटै छानामुनि समेटेर भाइचाराको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले समाज गठन गरिएको उनले बताए।

उनका अनुसार तिलोत्तमा–१६ पर्सहवामा निर्माणाधीन केन्द्रीय कार्यालय भवनको पहिलो चरणको काम आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पहिलो चरणपछि एसी जडान, बगैंचा निर्माण, टायल, फर्निचर र खोलाको तटबन्धनलगायतका काम गरिनेछ।

समाजले २ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न दुईतले भवन निर्माण गरिरहेको छ। भवनको पहिलो तलामा ३ सय जना अट्ने सभाहल तथा माथिल्लो तलामा केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय, बैठक हल र पूजारी कोठा निर्माण गरिने योजना रहेको छ। २०७९ साउनमा शिलान्यास भएको भवनको पहिलो तलाको ढलाइ सम्पन्न भइसकेको छ भने हाल दोस्रो तलाको काम भइरहेको छ।

समाजका कोषाध्यक्ष होमकान्त बश्यालका अनुसार भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म करिब ३५ प्रतिशत भौतिक प्रगति भएको उनले जानकारी दिए। आवश्यक रकम अभाव रहेकाले दाताहरूलाई सहयोगका लागि आग्रह समेत गरिएको छ।

कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा सल्लाहकार रुद्रनाथ बश्याल, पूर्व महासचिव धनिश्वर बश्याल, चितवन क्षेत्रीय समितिका अध्यक्ष लेखनाथ बश्याल, निभान हस्पिटलका निर्देशक डा. चन्द्रमणि बश्याललगायतले समाजलाई अझ सक्रिय रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

समाजले हरेक वर्ष रक्तदान, आश्रम सहयोगलगायत विभिन्न सामाजिक तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

You may also like