काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसको असरका कारण देशभर मौसममा बदली देखिएको छ।
हाल कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य स्थानहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। साथै, पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी स्थानहरूमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।


