बुटवल । बुटवलमा सञ्चालन गरिएको विद्यालयस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि सिद्धेश्वर माध्यमिक विद्यालयले जितेको छ। नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवसको अवसरमा जिपी स्मृति प्रतिष्ठान रुपन्देहीले आयोजना गरेको रनिङ शिल्ड प्रतियोगितामा सिद्धेश्वरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो।
शनिबार सम्पन्न फाइनल खेलमा सिद्धेश्वरले उजुरसिंह माध्यमिक विद्यालयलाई ३–१ सेट (१६–२५, २५–२३, २५–१६ र २५–१७) ले पराजित गरेको हो। पराजित उजुरसिंह दोस्रो स्थानमा सीमित भयो।
फाइनल प्रवेशका लागि सिद्धेश्वरले नवीन औद्योगिक माध्यमिक विद्यालयलाई पराजित गरेको थियो भने उजुरसिंहले पर्रोहा माध्यमिक विद्यालयलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
उपाधि विजेता सिद्धेश्वरले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता उजुरसिंहले २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो।
प्रतियोगितामा नवीन औद्योगिक माध्यमिक विद्यालय तेस्रो स्थानमा रहँदा पर्रोहा माध्यमिक विद्यालय सान्त्वना स्थानमा सीमित भयो। तेस्रो भएको नवीनले पर्रोहालाई ३–० सेटले हराएको हो। तेस्रो र सान्त्वना हुने टोलीले क्रमशः १५ हजार र १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे।
व्यक्तिगततर्फ सिद्धेश्वरकी निरुता नाथ उत्कृष्ट खेलाडी घोषित भइन् भने पर्रोहा माविकी दर्शना रोका अनुशासित खेलाडी घोषित भइन्। उनीहरूलाई जनही १ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
विजेताहरूलाई प्रतिष्ठानका अध्यक्ष रामबहादुर कार्की, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय तथा प्रतिष्ठानका सल्लाहकार राधेश्याम राजभण्डारीले पुरस्कार वितरण गरेका थिए।
रुपन्देहीका ११ वटा सामुदायिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा सिद्धेश्वर, उजुरसिंह, नवीन र पर्रोहासहित ज्ञानोदय, शान्ति नमुना, नहरपुर, नवरत्न, पशुपति, मोतिपुर र नयाँगाउँ माध्यमिक विद्यालयले प्रतिस्पर्धा गरेका थिए।
कार्यक्रम प्रतिष्ठानका कार्यसमिति सदस्य बाबुराम बिकको संयोजनमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव गंगा पन्थीले गरेकी थिइन्।


