काठमाडौँ ।नेपालमा पुनः मौसम बदली भई आज (शुक्रबार) देखि देशका विभिन्न क्षेत्रमा वर्षा, हुरीबतास, चट्याङ तथा असिना पर्ने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार र शनिबार मौसम थप बदली हुने र वर्षाको गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बिहीबार साँझदेखि बदली सुरु भइसकेको र शुक्रबारदेखि विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ।
बिहीबार साँझ गोरखा, सिन्धुपाल्चोक, कास्की, लमजुङ, सङ्खुवासभा, खोटाङ र नुवाकोटलगायत क्षेत्रमा वर्षा भएको थियो। यो क्रम शुक्रबार रातिदेखि अझ सक्रिय हुने जनाइएको छ।
मौसम बुलेटिनअनुसार शुक्रबार हिमाली क्षेत्रमा आंशिक बदली, पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ। साथै, देशका पहाडी र हिमाली भूभागका केही स्थान तथा तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका केही स्थान र अन्य पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
हुरीबतास, चट्याङ र असिनाबाट हुन सक्ने क्षतिबाट जोगिन विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।


