लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुनः पहिलो, एमएसएसमा ९० अंकसहित लगातार तेस्रो सफलता

by समतल अनलाइन
84Shares

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (एमएसएस)मा लगातार उत्कृष्ट नतिजा कायम राख्दै नेपालमै पहिलो स्थान हासिल गरेको छ। अस्पतालले यस वर्ष “सेकेण्डरी बी” लेभलका अस्पतालहरूमा ९० अंक प्राप्त गर्दै लगातार तेस्रो पटक पहिलो बन्न सफल भएको हो।

अस्पतालले गत वर्ष ८९ अंक ल्याएर पनि पहिलो स्थान हासिल गरेको थियो। बुधबार आयोजित सेवा मूल्याङ्कन समीक्षा कार्यक्रममा अस्पतालका सेवा, उपकरण, भौतिक संरचना तथा जनशक्ति सम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो। यस वर्ष भक्तपुर अस्पतालले पनि समान ९० अंक प्राप्त गरेको छ।

कार्यक्रममा बोल्दै खेमबहादुर सारुले सरकारी अस्पतालप्रति जनताको धारणा बदलिँदै गएको बताए। उनले सेवा गुणस्तर अंकमा मात्र सीमित नभई जनताले प्रत्यक्ष महसुस गर्ने गरी सुधार गर्न निर्देशन दिए। उत्कृष्टता कायम राख्नु चुनौतीपूर्ण हुने भन्दै थप सुधारमा ध्यान दिन आग्रह गरे।

डा. रोशनलाल चौधरीले सेवा विस्तार र विशिष्टीकरणतर्फ अघि बढ्न सुझाव दिए। प्रदेश सरकारले आवश्यक पूर्वाधार, जनशक्ति र बजेट व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले प्राप्त नतिजा पर्याप्त नभएको उल्लेख गर्दै थप सुधारका योजनासहित काम भइरहेको बताए। उनले न्यूनतम सेवा मापदण्डअनुसारका आधारभूत पक्षमा सरकारको ध्यान आवश्यक रहेको पनि बताए।

अस्पतालले सेवा विस्तारअन्तर्गत एमआरआई सेवा, स्त्रीरोगतर्फ छुट्टै अपरेशन थिएटर, डिजिटल पेमेन्ट, एसएमएसमार्फत रिपोर्ट सेवा, फार्मेसी विस्तार, २४ घण्टा बीमा सेवा, सामाजिक सेवा इकाई सञ्चालन जस्ता काम अघि बढाएको जनाएको छ। वेस्ट म्यानेजमेन्टका लागि अटोक्लेभ मेसिन प्रयोग तथा प्रशोधन प्रणाली लागू गरिएको छ भने आइभिएफ सेवा सञ्चालनका लागि अध्ययन सुरु गरिएको जानकारी दिइएको छ।

हाल अस्पतालमा ५१ जना विशेषज्ञ चिकित्सकसहित ८५० भन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सेवा प्रदान भइरहेको छ। कार्यक्रम अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो।

You may also like