आज चैते दशैँको अष्टमी मनाइदै

by समतल अनलाइन
63Shares

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिनई चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ ।

विगत वर्षमा चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् बताउछन् ।

“वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ”–उनले भने । बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनका लागि हो ।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

You may also like