बुटवलमा फोहोरबाट मोहर बनाउने अभियान, शिवनगर केन्द्रलाई मेसिन हस्तान्तरण

by समतल अनलाइन
71Shares

बुटवल । बुटवल उपमहानगरपालिका–७ शिवनगरमा सञ्चालित फोहोर महिला प्रशोधन केन्द्रलाई विभिन्न आधुनिक मेसिन तथा ट्रस्ट हस्तान्तरण गरिएको छ।

शिवनगरस्थित बुटवल सरसफाई तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडद्वारा २०७७ सालदेखि सञ्चालनमा ल्याइएको उक्त केन्द्रका लागि बुटवल उपमहानगरपालिकाले ट्रस्ट निर्माण गरिदिएको छ। साथै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) र कोकाकोला फाउन्डेसनले फोहोर छुट्याउने तथा प्लास्टिकजन्य फोहोरबाट इट्टा उत्पादन गर्ने मेसिन उपलब्ध गराएका हुन्।
मंगलबार आयोजित कार्यक्रममा ती ट्रस्ट तथा मेसिन हस्तान्तरण गर्दै औपचारिक उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले समुदायमा आधारित फोहोर व्यवस्थापन कार्यलाई दिगो र प्रभावकारी बनाउन युएनडीपी र कोकाकोला फाउन्डेसनले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

उनले प्रशोधन केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके ९० प्रतिशत फोहोर पुनः प्रयोग (रिसाइकलिङ) गरी आर्थिक स्रोतमा रूपान्तरण गर्न सकिने बताए। “फोहोरलाई आयआर्जनसँग जोड्न सके यसबाट ठूलो सम्भावना सिर्जना हुन्छ,” उनले भने ।

प्रमुख पाण्डेले फोहोर व्यवस्थापनलाई स्थानीय स्तरमै सञ्चालन गर्दा रोजगारी सिर्जना हुने उल्लेख गर्दै हाल केन्द्रमा ३०–३५ जनाले रोजगारी पाएको र भविष्यमा बुटवलभर यस्ता केन्द्र विस्तार गर्दा ३–४ सय जनाले रोजगारी पाउने सम्भावना रहेको बताए ।

उनका अनुसार नगल्ने फोहोरबाट इट्टा लगायत विभिन्न सामग्री उत्पादन गर्ने र अन्तिममा बाँकी रहने करिब १० प्रतिशत फोहोरको व्यवस्थापनका लागि आधुनिक प्रविधि प्रयोग गरिनेछ। अन्य देशका अनुभवलाई समेट्दै बुटवलमा दिगो फोहोर व्यवस्थापन प्रणाली विकास गर्ने लक्ष्य रहेको उहाँले बताए।

कार्यक्रममा युएनडीपीका प्रतिनिधि जुलियन चेबिलियाड र जेफ्री ग्रेले बुटवल उपमहानगरपालिकाले अघि सारेको यस्तो अभियानले शहरलाई स्वच्छ र स्वस्थ बनाउने विश्वास व्यक्त गरे । उनीहरूले यो मोडेल समुदायमै आधारित उत्कृष्ट अभ्यास भएको उल्लेख गर्दै भविष्यमा अन्य स्थानमा समेत विस्तार गर्न सकिने बताए ।

उनीहरूका अनुसार यस प्रकारको पहल दिगो विकास लक्ष्य (एसडीजी) हासिल गर्ने उदाहरणीय कार्यक्रम हो र वातावरण संरक्षणसँगै समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

कार्यक्रम बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको अध्यक्षता, उपप्रमुख सावित्रा देवी अर्यालको स्वागत तथा महाशाखा प्रमुख तुलसा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो।

You may also like