रक्षा बमको प्रश्न– “गोली चलाउने आदेश कसले दियो ? छानबिन प्रतिवेदन किन सार्वजनिक हुँदैन ?”

by समतल अनलाइन
76Shares

काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले गत भदौ २३ र २४ गते भएको आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन चाँडो सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले छानबिन आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा आफूले पनि धेरै प्रश्नहरूको सामना गर्नुपरेको बताएकी छन् ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफूविरुद्ध उठिरहेका आरोपबारे स्पष्ट हुन चाहेको उल्लेख गरेकी छन् । “प्रधानमन्त्रीज्यू, मेरो हातमा रगत लागेको छ कि छैन, म जान्न चाहन्छु । मैले सिंहदरबार जलाएको हो कि होइन, म जान्न चाहन्छु । म कतैबाट परिचालित छु कि छैन, यी सबै प्रश्नहरूको उत्तर म पनि खोज्दैछु,” उनले लेखेकी छन् ।

रक्षाले शान्तिपूर्ण आन्दोलन अचानक हिंसात्मक कसरी भयो भन्ने विषयमा पनि प्रश्न उठाएकी छन् । उनले गोली चलाउने आदेश कसले दियो र सिंहदरबारमा आगजनी कसको संलग्नतामा भयो भन्नेबारे सत्य बाहिर आउनुपर्नेमा जोड दिएकी छन् ।

“हाम्रो शान्तिपूर्ण आन्दोलन एकाएक हिंसात्मक कसरी भयो ? गोली चलाउने आदेश कसले दियो ? र सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ? त्यसैले, कृपया छानबिन प्रतिवेदन सार्वजनिक गरिदिनुहोस्, त्यो तपाईंको जिम्मेवारी हो,” उनले आग्रह गरेकी छन् ।

उनले प्रधानमन्त्रीलाई हाल सडकमा भइरहेको अवस्था र आन्दोलनमा सहभागीहरूले भोगिरहेको व्यवहारबारे जानकारी छ कि छैन भन्ने प्रश्नसमेत गरेकी छन् ।
रक्षाले संविधान जोगाउने र देशलाई निकास दिने विश्वासका साथ आफूहरूले सरकारमाथि भरोसा गरेको स्मरण गराउँदै अहिले भने त्यसको बदलामा दुर्व्यवहार र आरोप सहनुपरेको गुनासो गरेकी छन् ।
“संकटको अवस्थामा संविधान जोगाउन तपाईंको नेतृत्व आवश्यक छ भन्ने विश्वासका साथ हामीले भरोसा गरेका थियौं । तर आज हामीले दुर्व्यवहार भोगिरहेका छौं । जीवनभर गलत आरोपको बोझ बोक्नुपर्ने अवस्था सिर्जना हुँदैछ,” उनले उल्लेख गरेकी छन् ।
उनले पीडितहरूको आवाज समयमै सम्बोधन गर्न सरकारलाई आग्रह गर्दै छानबिन प्रतिवेदन सार्वजनिक गर्न पुनः जोड दिएकी छन् ।

You may also like