बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहानदेखि परेको वर्षासँगै सिद्धबाबा क्षेत्रमा लेदो सहित ढुङ्गा खसेपछि सवारी आवागमन ठप्प बनेको हो। सडक माथिबाट लगातार झर्ने ढुङ्गा र माटोका कारण उक्त खण्ड जोखिमपूर्ण बनेको छ।
प्रहरीका अनुसार सडक अवरुद्ध भएपछि बुटवलबाट पाल्पातर्फ जाने तथा पाल्पाबाट बुटवलतर्फ आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्। वैकल्पिक मार्गको व्यवस्था तत्काल सम्भव नभएकाले यात्रुहरू अलपत्र परेका छन्।
सिद्धबाबा क्षेत्र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा परिचित छ। वर्षा लाग्ने बित्तिकै यहाँ पटक–पटक पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
सडक खुलाउने प्रयास भइरहेको भए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन कठिनाइ भएको बताइएको छ। यात्रुलाई आवश्यक सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ।


