मध्यपूर्व तनावबीच होर्मुज क्षेत्रमा नेपाली पक्राउ, ८२ हजारभन्दा बढी नेपाली सम्पर्कमा

by समतल अनलाइन
92Shares

काठमाडौँ । परराष्ट्र मन्त्रालय ले इरानको होर्मुज क्षेत्रमा एक जना नेपाली नागरिक पक्राउ परेको पुष्टि गरेको छ। पक्राउ पर्ने व्यक्ति अमृत झा रहेको जनाइएको छ।

मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्का ले होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार इरानले उक्त जहाजका सबै क्रु सदस्यलाई नियन्त्रणमा लिँदा झा पनि त्यसमा परेका हुन्। यसबारे झाका आफन्तहरूले मन्त्रालयलाई जानकारी गराएका थिए।
हाल इरान, अमेरिका र इजरायल बीच बढ्दो द्वन्द्वका कारण मध्यपूर्वमा रहेका नेपालीहरू पनि प्रभावित भएका छन्। यसै सन्दर्भमा सरकारले सबै नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको थियो।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री का अनुसार अहिलेसम्म ८२ हजार १ सय नेपालीले अनलाइन प्रणालीमार्फत विवरण दर्ता गराएका छन्। प्रारम्भमा करिब ६ हजार जनाले आफू असुरक्षित रहेको बताएका थिए भने पछिल्ला दिनहरूमा यस्तो संख्या उल्लेख्य रूपमा घटेको दाबी गरिएको छ।

उनले मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १ सय ७० पटक सम्पर्क भएको जानकारी दिए। सुरुवाती दिनहरूमा सुरक्षासम्बन्धी जिज्ञासा बढी आए पनि अहिले श्रम स्वीकृतिसम्बन्धी प्रश्नहरू बढी आउन थालेका छन्।

सरकारले आफ्ना १० वटै नियोगमार्फत मध्यपूर्वमा रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा जानकारी लिने र आवश्यक समन्वय गर्ने काम जारी राखेको जनाएको छ। साथै, हाल कुनै पनि नेपाली नागरिक विदेशको ट्रान्जिटमा नरहेको र जेद्दामा रहेका ५२ जना हजयात्रीसमेत स्वदेश फर्किसकेको जानकारी दिइएको छ।
सरकारले आवश्यक परे उद्धारका लागि समेत तयारी अवस्थामा रहेको जनाएको छ।

You may also like