कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

by समतल अनलाइन
87Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् । सिंहले ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत मात्र ल्याए ।

रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट प्राप्त गरेको छ ।

चुनावी परिणाम सार्वजनिक भएपछि थापा राजीनामाको तयारीमा थिए । यद्यपि, पार्टीका विभिन्न तहका नेताहरुले उनलाई राजीनामा नदिन सुझाव र दबाब दिँदै आएका थिए ।

निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट थापा सर्वसम्मत सभापतिमा निर्वाचित भएका थिए । उनले बुझाएको राजीनामाबारे पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ । उक्त बैठक शुक्रबारका लागि बोलाइएको छ ।

२७ देखि ३० पुससम्म भृकुटीमण्डपमा भएको कांग्रेस विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गर्दै थापा नेतृत्वमा १ सय ३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

त्यसको वैधानिकतालाई लिएर तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्चमा अहिले पनि विचाराधीन छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै थापा नेतृत्वकै केन्द्रीय कार्यसमितिलाई अद्यावधि गर्ने निर्णय ४ माघमा लिएको थियो । त्यसपछि आयोगको निर्णयलाई चुनौती दिँदै देउवा र खड्का सर्वोच्च गएका हुन् । तत्कालीन कांग्रेस नेतृत्वको अलोकप्रियता हटाएर जाँदा निर्वाचनमा राम्रो परिणाम आउने अपेक्षा सभापति थापाको थियो ।

विशेष महाधिवेशनले पार्टीको पुरानो नेतृत्व मात्र नभएर राष्ट्रिय राजनीति र पार्टी नीतिमा रूपान्तरणकारी निर्णयसमेत लिएको थियो । त्यसले पनि निर्वाचनमा कांग्रेसले नराम्रो हार व्यहोर्नुपरेपछि थापाले राजीनामा दिएर तत्काल नियमित महाधिवेशनतिर पार्टीलाई डोर्‍याउन चाहेका हुन्।

पार्टी र आफैंले समेत निर्वाचनमा व्यहोरेको क्षतिबाट तनावमा रहेका थापाले केही दिनअघिदेखि नै राजीनामा बुझाउने तयारी गरिरहेका थिए। समानुपातिकतर्फको परिणाम नआउँदै उनले राजीनामाको मनस्थिति बनाइसकेका थिए । २५ फागुनमा उपसभापति शर्मासँगको भेटमा नै थापाले राजीनामा दिनेबारे जानकारी गराएका हुन्। त्यसयता थापाले राजीनामा दिनुपर्ने र नपर्नेबारे दुवैथरी धारणा पार्टीभित्र नेताहरूले राख्दै आएका थिए ।

राजीनामा नदिन केन्द्रीय कार्यसमिति र बाहिरबाट समेत चौतर्फी दबाब परे पनि सभापति थापाले नमानेपछि शर्माले राजीनामा बुझेर केन्द्रीय कार्यसमिति बैठकमा छलफलको विषय बनाउन तयारी गरेका छन् ।

You may also like