बुटवलमा जिल्ला आर्थिक गणना कार्यालय उद्घाटन

by समतल अनलाइन
86Shares

बुटवल । राष्ट्रिय तथ्याङ्क कार्यालय बाट सञ्चालन हुने दोस्रो आर्थिक गणना २०८२ अन्तर्गत जिल्ला आर्थिक गणना कार्यालय रूपन्देही ‘ख’ को बुटवलमा उद्घाटन गरिएको छ। कार्यालयको उद्घाटन रूपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाथ उपाध्यायले गरेका हुन्।

देवीनगरस्थित वडा कार्यालयको भवनमा स्थापना गरिएको उक्त कार्यालय उद्घाटन समारोहमा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले राष्ट्रको समग्र विकासका लागि आर्थिक तथ्याङ्क अत्यन्त महत्वपूर्ण हुने बताए। उनले सही र विश्वसनीय तथ्याङ्ककै आधारमा प्रभावकारी नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन सम्भव हुने उल्लेख गरे।

कार्यक्रममा रामचन्द्र खनाल वडा नं. ११ का वडाध्यक्षले उपमहानगरपालिका तथा वडाको तर्फबाट कार्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी जिल्ला आर्थिक गणना कार्यालय रूपन्देही ‘ख’ का प्रमुख जिल्ला आर्थिक गणना अधिकारी तथा तथ्याङ्क अधिकृत नन्दलाल कुर्मीले रूपन्देहीमा बुटवल र भैरहवा गरी दुई स्थानमा कार्यालय स्थापना गरिएको जानकारी दिए। उनका अनुसार बुटवलस्थित कार्यालयले बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका र तिलोत्तमा नगरपालिकाभित्र रहेका व्यवसायिक फर्म तथा प्रतिष्ठानहरूको तथ्याङ्क संकलन गर्नेछ।

चैत्र महिनादेखि सुरु हुने आर्थिक गणना कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुनेछ भने मुख्य गणना वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन गरिनेछ।

कुर्मीका अनुसार बुटवल कार्यालयमा ७५ जना गणक र १२ जना सुपरिवेक्षक खटिने छन् भने भैरहवा कार्यालयमा ८४ जना गणक र १२ जना सुपरिवेक्षक फिल्डमा परिचालन गरिनेछ।

You may also like