बुटवलमा ‘मिस्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ हुने

by समतल अनलाइन
79Shares

बुटवल। मोफसलमै सबैभन्दा ठूलो पुरस्कार राशिसहित ‘मिस्टर रामापिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा महिला फिजिक्स प्रतियोगिता २०८२’ बुटवलमा आयोजना हुने भएको छ।
Butwalमा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघ र रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको संयुक्त आयोजनामा यही चैत ६ र ७ गते प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्रतियोगितामा पुरुषतर्फ ५५ केजीदेखि ७० केजीभन्दा माथिसम्म ६ समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला ‘एथलेटिक फिजिक्स’ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको छ। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले बुटवलमा यसअघि अन्तरप्रदेशस्तरीय प्रतियोगिता ११ पटक र उजिर सिंह प्रतियोगिता ३ पटक सफलतापूर्वक आयोजना भइसकेको उल्लेख गर्दै यहाँ काठमाडौंपछि सबैभन्दा धेरै यस्ता प्रतियोगिता हुने गरेको बताए।

उनले प्रतियोगिता केवल खेलकुद कार्यक्रम मात्र नभई बुटवलको ऐतिहासिक पहिचान, लुम्बिनीको गौरव र नेपाली खेलकुद विकासलाई एकैसाथ जोड्ने प्रयास भएको बताए। साथै ‘रामापिथेकस’ मार्फत लुम्बिनी प्रदेशको ऐतिहासिक तथा वैज्ञानिक महत्व उजागर गर्ने उद्देश्य पनि रहेको उनले स्पष्ट पारे।

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहनेछ। उनका अनुसार विराटनगरदेखि कञ्चनपुरसम्मका खेलाडीले सहभागिता जनाउने छन् र हालसम्म ६६ जनाले नाम दर्ता गरिसकेका छन्।

पुरुष बडीबिल्डिङतर्फ प्रथम हुनेले नगद १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछन्। साथै ‘ओभरअल’ विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।

महिलातर्फ प्रथम हुनेले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार र ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता शुल्क १ हजार रुपैयाँ र दर्शकका लागि प्रवेश टिकट २५० रुपैयाँ तोकिएको छ। प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
प्रतियोगिताको संरक्षकका रूपमा बुटवल उपमहानगरपालिकाको रहेको छ भने मुख्य सहयोगी संस्थाका रूपमा लुम्बिनी प्रदेश सरकारको रहने आयोजकले जनाएको छ।

You may also like