गृह र रक्षा बालेनसँग, अर्थ र परराष्ट्र रबि निकटका खनाल र वाग्लेलाई

by समतल अनलाइन
90Shares

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ ।

पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको बताइएको छ । प्रभावकारी र परिणाममुखी सरकार गठन गर्ने तथा सक्षम सांसदलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने विषयमा सहमति भएको स्रोतको भनाइ छ ।

सहमति अनुसार सरकार सञ्चालनको नेतृत्व शाहले गर्नेछन् भने पार्टीको समग्र जिम्मेवारी लामिछानेले सम्हाल्नेछन् ।

प्रधानमन्त्रीका उम्मेदवार शाह क्याबिनेट गठन र पदभार ग्रहणपछि अघि बढाइने कामको तयारीमा जुटेका छन् । प्रारम्भिक समझदारी अनुसार अर्थमन्त्रीमा पार्टी उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्ले नियुक्त हुने लगभग निश्चित रहेको बताइएको छ । परराष्ट्रमन्त्रीमा विदेश विभाग प्रमुख शिशिर खनाल रहने सम्भावना उच्च छ ।

स्रोतका अनुसार अर्थ मन्त्रालयको जिम्मेवारीबारे प्रारम्भिक चरणमा फरक धारणा देखिए पनि अन्ततः सहमति जुटेको छ । रक्षामन्त्रालय भने प्रधानमन्त्री शाहले आफैंसँग राख्ने तयारी गरिएको छ ।

त्यस्तै गृहमा पनि छलफल तीव्र भइरहेको छ । कतिपयले बहालवाला गृहमन्त्री ओमप्रकाश अर्याललाई नै बालेनले निरन्तरता दिनसक्ने आशंका पनि गरेका छन् । तर, बालेननिकट स्रोतले त्यस्तो योजना नरहेको बतायो । बालेनको टिममा कसैको नाममा सहमति नजुटेको खण्डमा गृह मन्त्रालय प्रधानमन्त्री मातहतमै राख्ने कि भनेर समेत छलफल भएको छ ।

शाह नेतृत्वको मन्त्रिपरिषद् अधिकतम १४ सदस्यीय हुने बताइएको छ । क्षेत्रीय सन्तुलन र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी गृहकार्य भइरहेको जनाइएको छ ।

सम्भावित मन्त्रीहरूको सूचीमा डीपी अर्याल, सुदन गुरुङ, सस्मित पोखरेल, सुनिल लम्साल, मिग्मा डेभिड शेर्पा र अमरेश सिंह रहेका छन् । साथै, विराजभक्त श्रेष्ठ, प्रतिभा रावल, सोविता गौतम र आशिष गजुरेल पनि सम्भावित सूचीमा छन् ।

प्रधानमन्त्रीका रूपमा शाहले चैत १४ भित्र सपथ लिने तयारी गरेको बताइएको छ ।

You may also like