पाल्पामा पिकअप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

by समतल अनलाइन
90Shares

बुटवल ।पाल्पाको सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका–२ रोकाडाँडामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पिकअप जिप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्ती मगरको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक कुसल सिंह ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु १ च ३७४० नम्बरको पिकअप जिप र विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक मगर गम्भीर घाइते भएका थिए।

घाइते मगरलाई तत्काल उपचारका लागि लुम्बिनी मेडिकल कलेज टिचिङ अस्पताल प्रभास लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न पिकअप जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बसोबास गर्दै आएका थिए।

You may also like