काठमाडौं।पछिल्लो तीन दिनदेखि गण्डकीदेखि कोशी प्रदेशसम्म भइरहेको वर्षा अब पश्चिम नेपालसम्म फैलिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबारदेखि पश्चिमतर्फ पनि वर्षा विस्तार हुने सम्भावना रहेको छ।
विभागका मौसमविद् रोजन लामिछाने का अनुसार अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली को आंशिक प्रभाव रहेको छ। हाल पूर्वकेन्द्रित भएर भइरहेको वर्षा प्रणाली भोलिदेखि विकास भई पश्चिम क्षेत्रमा पनि फैलिने उनले बताए।
उनका अनुसार अबको तीन दिन देशभर मौसम बदली रहनेछ। बिहान केही खुला देखिए पनि दिउँसोदेखि क्रमशः बदली बढ्दै वर्षा हुने सम्भावना छ। भोलिदेखि पश्चिम क्षेत्रमा अर्को मौसमीय प्रणाली पनि विकास हुने उनले जानकारी दिए।
मौसमविद्का अनुसार उच्च चापीय प्रणाली कमजोर भई न्यून चापीय प्रणाली र पश्चिमी न्यून चापीय प्रणाली मिलेर मौसममा बदली गराउनेछ। यसका कारण हावाहुरी, चट्याङ तथा असिनासहित वर्षा हुन सक्ने सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ।
विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ। वर्षा मापनको विवरणअनुसार सङ्खुवासभा जिल्लामा सबैभन्दा धेरै ५२ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको छ। अन्य केही जिल्लामा मध्यम वर्षा भएको तथा कतैकतै असिना पनि परेको विभागले जनाएको छ।
विभागले शनिबार साँझ जारी गरेको मौसम बुलेटिनअनुसार आज राति देशको हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भूभागका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने बताइएको छ।
आइतबार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जानकारी दिएको छ।


