काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको वितरण व्यवस्थापन गर्न नेपाल आयल निगमले ग्यास उद्योगी तथा विक्रेतालाई विशेष निर्देशन दिएको छ । निगमले उद्योगहरूलाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र दैनिक बिक्री तथा वितरणको विवरण निगममा बुझाउनुपर्ने व्यवस्था गरेको हो।
निगम र ग्यास उद्योगीबीच भएको छलफलपछि आपूर्ति प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको निगमले जनाएको छ। उद्योगहरूले कुन विक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण दैनिक रूपमा निगममा उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास विक्रेताले पनि उपभोक्तालाई बिक्री गरेको ग्यासको परिमाण, नाम र सम्पर्क नम्बर सहितको अभिलेख राखेर दैनिक रूपमा निगमलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। यसले ग्यास वितरणमा पारदर्शिता बढ्ने र बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिने निगमको अपेक्षा छ।
निगमले ग्यास वितरणमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिन उद्योगी र विक्रेतालाई निर्देशन दिएको छ। होटल तथा व्यावसायिक क्षेत्रभन्दा पहिले सर्वसाधारणलाई ग्यास उपलब्ध गराउने नीति पनि लागू गरिएको छ।
हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा इन्धन आपूर्तिमा असर पर्ने सम्भावना देखिएको भए पनि नेपालमा ग्यास आयात भने नियमित रूपमा भइरहेको निगमले जनाएको छ। तथापि, बजारमा अनावश्यक रूपमा ग्यास जम्मा गर्ने प्रवृत्ति बढे वितरण प्रणाली प्रभावित हुन सक्ने भन्दै निगमले उद्योग, विक्रेता र उपभोक्तालाई आवश्यक मात्रामा मात्र ग्यास प्रयोग गर्न आग्रह गरेको छ।
निगमले अनावश्यक रूपमा ग्यास सिलिन्डर भण्डारण गर्ने, बढी मूल्यमा बिक्री गर्ने वा अवैध रूपमा सिलिन्डर बजारमा ल्याउने कार्य भए कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।


