पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

by समतल अनलाइन
74Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु तथा पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार हाल बागमती, गण्डकी तथा कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ।
गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान र बागमती प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ।

आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने तथा बाँकी क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा तथा कोशी प्रदेशको तराई र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति भने देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम विभागले जनाएको छ।

You may also like