महावीर पुनले सार्वजनिक गरे चुनावी खर्च, बचेको रकमबाट बेनीमा सेवा केन्द्र खोल्ने

by समतल अनलाइन
29Shares

काठमाडौँ । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी अभियानको खर्च विवरण सार्वजनिक गरेका छन्। उनले प्रचारप्रसारपछि बाँकी रहेको रकम जनसेवामा प्रयोग गर्ने योजना पनि सार्वजनिक गरेका छन्।

पुनका अनुसार निर्वाचन अभियानका लागि २७ जना सहयोगीदाताबाट कुल ५६ लाख ३७ हजार ८९३ रुपैयाँ संकलन भएको थियो। ४५ दिनसम्म सञ्चालन गरिएको प्रचारप्रसार अभियानमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र २७ लाख ६९ हजार २५ रुपैयाँ बैंक खातामा बचत रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले म्याग्दीको भौगोलिक अवस्था दुर्गम भएकाले चुनावी अभियान सञ्चालन गर्न चुनौतीपूर्ण रहेको बताएका छन्। झापा वा काठमाडौँजस्ता सहज भौगोलिक क्षेत्रमा छोटो समयमै धेरै स्थान पुग्न सकिने भए पनि म्याग्दीमा त्यस्तो सम्भव नभएको उनको भनाइ छ। प्रचार अभियानका क्रममा १० देखि १६ जनासम्मको टोलीले बिहान ७ बजेदेखि राति १० बजेसम्म काम गर्दै जिल्लाका अधिकांश गाउँमा दुई पटकसम्म पुगेर मतदातासँग भेटघाट गरेको उनले बताएका छन्।

प्रचार खर्चपछि बाँकी रहेको रकम अब सार्वजनिक सेवामा प्रयोग गरिने पुनले जनाएका छन्। उनका अनुसार उक्त रकमबाट म्याग्दीको सदरमुकाम बेनीमा आगामी पाँच वर्षका लागि सम्पर्क कार्यालय सञ्चालन गरिनेछ।

गाउँबाट सरकारी कामकाजका लागि सदरमुकाम आउने सर्वसाधारणलाई प्रक्रियागत झन्झट कम गर्न सहयोग पुर्‍याउने उद्देश्यले सेवा केन्द्र सञ्चालन गर्ने योजना रहेको उनले बताएका छन्। कार्यालयमा दुई जना कर्मचारी राखिने तथा कम्प्युटर, फोटोकपी मेसिन र प्रिन्टरलगायत आवश्यक उपकरणको व्यवस्था गरिने जानकारी पनि उनले दिएका छन्।

उक्त कार्यालयमार्फत सदरमुकाम आउने सेवाग्राहीलाई नि:शुल्क रूपमा सामान्य प्रशासनिक सहयोग र सहजीकरण उपलब्ध गराइने पुनको भनाइ छ। उनले चुनावी अभियानका क्रममा मतदातासँग गरिएको प्रतिबद्धता अनुसार नै योजना अघि बढाइएको बताएका छन्।

You may also like