खाडी क्षेत्रमा जहाजमाथि आक्रमणपछि विश्व बजारमा तेलको मूल्य १०० डलर नाघ्यो

by समतल अनलाइन
78Shares

काठमाडौँ । मध्यपूर्व (खाडी क्षेत्र) मा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएपछि बिहीबार विश्वव्यापी तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ। यसले विश्व अर्थतन्त्रमा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ ।

यो मूल्यवृद्धि अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावसँग जोडिएको मानिएको छ। ऊर्जा ढुवानीका लागि विश्वकै महत्वपूर्ण जलमार्ग ‘हर्मुज स्ट्रेट’ मा आक्रमणको जोखिम बढेपछि जहाज आवतजावत प्रभावित भएको बताइएको छ।

इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले अमेरिका र उसका सहयोगीहरूसँग सम्बन्धित जहाजलाई निशाना बनाउने चेतावनी दिएको छ। उसले परिस्थिती थप जटिल बने तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने संकेत पनि गरेको छ।

बढ्दो मूल्य नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आफ्नो आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने घोषणा गरेको छ। तर पनि बजारमा देखिएको त्रास पूर्ण रूपमा कम हुन सकेको छैन।

विज्ञहरूले यसलाई ‘अस्थायी राहत’ मात्र भएको बताएका छन्। आपूर्तिमाथिको जोखिम कायम रहेसम्म तेलको मूल्य उच्च नै रहने उनीहरूको भनाइ छ।

तेलको मूल्यवृद्धिको असर विश्वका विभिन्न देशमा देखिन थालेको छ। अमेरिकामा पेट्रोलको मूल्य बढेको छ भने फिलिपिन्स र थाइल्यान्डजस्ता एसियाली देशमा इन्धन भर्नेहरूको लाइन लामो भएको बताइएको छ।

ऊर्जा संकटलाई ध्यानमा राख्दै केही देशले सरकारी कामकाजको समय घटाउने तथा घरबाट काम गर्ने व्यवस्था अपनाउन थालेका छन्।

You may also like