जनमतलाई सम्मानका साथ स्वीकार गर्छु : ओली

by समतल अनलाइन
77Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका छन् ।

निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएपछि आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने र त्यसलाई शिरोधार्य गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उल्लेख गरेका छन् ।

‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु । यस कठिन घडीमा पनि सूर्य चिह्नमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो,’ उनले भनेका छन् ।

निर्वाचनको परिणाम अपेक्षाअनुसार नआए पनि जनताप्रतिको एमालेको प्रतिबद्धता र सेवाभाव कमजोर नभएको उनले बताएका छन्।

‘हामी जनताकै बीचमा रहनेछौं, जनताकै लागि काम गरिरहनेछौं र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौं। मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद,’ उनले भनेका छन्।

यस निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ सिट र समानुपातिकतर्फ १६ सिट जितेको छ। अध्यक्ष ओली झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग पराजित भएका थिए।

You may also like